सरकारमाथि थपिएको अर्को समस्या जटिल बन्दै !

18
देशमा पशुपालनको क्षेत्रमा लम्पी स्किन महामारी फैलिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर कुल ११ लाखभन्दा बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भइसकेका छन् । यस्तै, ४८ हजार पशु चौपाया सो रोगका कारण मरेका छन् । हाल एक लाख ८१ हजार पशु चौपाया सो रोगबाट सक्रिय सङ्क्रमित छन् । पशु चौपाया मर्दा प्रत्यक्ष रुपमा ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको जाइएको छ । यस्तै, यसबाट समग्रमा एक खर्ब बराबरको क्षति भएको बताइन्छ । यही रोगले ठूलो मात्रामा गोरु मर्दा कतिपय जिल्लामा धान रोपाइँसमेत प्रभावित हुनुका साथै दूध उत्पादनमा समेत असर परेको छ ।
लम्पी स्किन महामारीका कारण किसानले हालसम्मकै सबैभन्दा ठूलो क्षति भोग्नुपरेको छ । नेपालजस्तो विपन्न मुलुकमा पशु पनि धेरै परिवारको महत्वपूर्र्ण धन हो । धेरैले ऋण लिएर गाई खरिद गरेका हुन्छन् । त्यसबाट दूध उत्पादन गरेर परिवारको खर्च टार्ने, सन्तानको कापीकलम किन्ने र थोरै खुसी बटुल्ने प्रयास गर्ने थुप्रै छन् । तर, उनीहरु यो रोगका कारण ठूलो मारमा परेका छन् । यसले नेपालको कृषि क्षेत्रमा ठूलो असर पनि पुगेको छ । केही महिनादेखि नै कृषकले यो समस्या भोगे पनि सरकारले भने हालसम्म कुनै राहत घोषणा गरेको छैन ।
गत सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन् । राहतको मोडालिटीका बारेमा आवश्यक प्रस्ताव तयार पारेर ल्याउन प्रधानमन्त्री दाहाल दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर रहेको, लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको जनाएका छन् । लम्पी स्किन रोग यसअघि दुईवर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो रोग यसअघि देखिएका छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको पनि स्वीकार गरेका थिए ।
लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गोटपक्स भ्याक्सिन’ लगाउनु उपयुक्त हुने विज्ञले जनाएका छन् । यसका लागि सो खोप नेपालमा खुला गर्न आवश्यकछ । अर्कोतर्फ संघका साथसाथै प्रदेश र स्थानीय तह पनि यो समस्याबाट पीडितको पहिचान गर्न परिचालित हुनुपर्ने आवश्यकता छ । विगतमा विभिन्न राहत र अनुदानमा आफ्ना कार्यकर्तामा रकम बाँड्ने प्रवृत्ति देखिएको थियो । यसपटक यो समस्यामा परेका वास्तविक किसानले भन्दा अन्यले राहत पाउन सक्ने जोखिम छ । त्यसले पीडामा परेका किसानलाई झनै आहत दिनेछ । त्यसैले सरकारले लम्पी स्किन संक्रमित पशुचौपायाको उपचार, खोप, पशु मरेका किसानलाई राहतको व्यवस्था छिटोभन्दा छिटो गर्न आवश्यक छ, आगे देशका सरदारहरुलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here