आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई प्राथमिकता : नवनियुक्त मन्त्री साह

61
काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छन्।

सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेकी उनले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताएकी हुन्।

सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

पार्टीले दिएको निर्देशनअनुसार भन्दा पनि संविधानको व्यवस्थाअनुसार आफूले काम गर्ने उनको भनाइ थियो।

मन्त्री साहले भनिन्, ‘सरकारी निकायको जति पनि काम कारबाही हुन्छ। यो संघीय मामिला मन्त्रालयको। आम नागरिकलाई सहज ढंगले सेवा प्रवाह हामीले कसरी दिनसक्छौं? त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ। आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौं। पार्टीको कुरा यसमा आएन। संविधान अनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौं? त्यसमा लाग्ने हो।’

जनमत पार्टीको तर्फबाट साह मन्त्री पदमा नियुक्त भएकी हुन्। यसअघि माओवादी केन्द्रको तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिएका अमनलाल मोदीलाई साउन २८ गते आईतवार (हिजो) मन्त्री पदबाट फिर्ता बोलाइएको थियो।

जनमत पार्टी एक मन्त्रीसहित पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो। अब्दुल खानलाई प्रधानमन्त्री दाहालले खानेपानी मन्त्रालयको जिम्मेवारी दिए पनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here