समाजवादीको मोर्चाको गन्तव्य कता ?

12

समाजवादी मोर्चाले आफ्नो उद्देश्यबारे जानकारी दिन सातै प्रदेशमा सभा आयोजना गर्ने भएको छ । मोर्चाको हालै बसेको बैठकले मधेस प्रदेशबाट आफ्नो सभाको कार्यक्रम सुरु गर्ने भएको हो । सरकार तथा संसदमा रहेका तीन दल र अर्को एक गरी चार दल मिलेर गत असारमा समाजवादी मोर्चा बनेको थियो । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् । अहिले सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन्, जसमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपा पनि सहभागी छ । तर, तिनै दल मिलेर बनेको मोर्चा भने यतिबेला कामभन्दा पनि भाषणबाजीलाई प्राथमिकता हुने सभा आयोजनाको कार्यक्रममा लागेका छन् ।

तीन महिनाअघि मोर्चा घोषणा सभामा नेताहरूले मुलुकमा ‘वाम एकता’ आवश्यक भएकाले मोर्चाबन्दी गरिएको र यो दीर्घकालीन हुने दाबी गरेका थिए । साथै संघीय समाजवादी गणतन्त्र र धर्म निरपेक्षताका पक्षमा तथा वैदेशिक हस्तक्षेपविरूद्ध उभिने वाचा पनि उनीहरूले गरेका थिए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मोर्चाको उद्देश्य थियो । यो समाजवाद एकात्मक राज्यको जस्तो नभई संघीय शासन प्रणालीमै आधारित हुने र वर्तमान संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई रक्षा, शुद्धीकरण गर्दै अग्रसरता लिने नेताहरुको भनाइ थियो । मोर्चाको घोषणासँगै संघीय संसद्मा बलियो उपस्थिति देखिएको थियो । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२ सीट, जसपाको १२ र एकीकृत समाजवादीको १० सीट गरेर ५४ सीट पुगेको छ ।

तर, त्यही मोर्चा अहिले सरकारमा भएको फाइदा उठाउँदै समाजवादको आफ्नो उद्देश्य प्राप्तिमा लाग्नुमा भाषणबाजीमा उत्रिने भएको छ । समाजवादी मोर्चाको समाजवाद नै गन्तव्य हो भने मोर्चामा रहेका तीनवटा दल सरकारमै सहभागी छन् र संविधानको प्रस्तावनामै गन्तव्य समाजवाद लेखिएको छ । जनतालाई झुक्याउन र नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउनका लागि मोर्चाको नौटंकी हैन भनेर पत्याउने आधार छैन । हाल मुलुकको अर्थतन्त्र संकटोन्मुख छ । सरकारले केही भ्रष्टाचारको फाइल खुलाएको त छ, तर भ्रष्टाचार, तस्करीमा कमी आउन सकेको छैन । शिक्षा, स्वास्थ्य, बैंकवित्त सबै क्षेत्रमा चरम लुट छ । महँगीका कारण उपभोक्ताको ढाड सेकिएको छ । न्यून आय भएका नागरिकलाई दैनिकी धान्न नै कठिन भइसकेको छ । बेरोजगारीका कारण सयौं युवा दैनिक विदेश पलायन भइरहेका छन् । तर, पूँजीपति वर्ग भने सरकारबाट लाभ लिन सफल भइरहेका छन् । जनतालाई मर्कामा पार्ने दलाल बिचौलियाबादलाई नियन्त्रणमा लिन सरकार असफल साबित भइरहेको छ । यस्तोमा सरकारको बागडोर सम्हालेको मोर्चाका दलहरुले समाजवादको पक्षमा, गरिब, श्रमिक जनताको पक्षमा काम गर्न कसैले रोकेको छैन । अर्कोतर्फ पुराना दलप्रति जनताको वितृष्णाबीच यो काम देखाउने सुनौलो अवसर पनि हो । त्यसैले भाषणको नाटक मञ्चनतर्फ भन्दा पनि कामतर्फ मोर्चाले ध्यान बढाउन आवश्यक छ । जनधारणा साप्ताहिक

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here