– प्रीति रमण
रोजगारीका लागि विदेश जाने नेपाली महिलाहरुको संख्या बढेसँगै यससम्बन्धी विभिन्न समसयाहरुमा पनि वृद्धि भएको छ । खाडी तथा मध्य पूर्व एसियाका देशमा जाने अधिकांश महिलाहरु घरेलु कामसँग सम्बन्धित छन् । तर, उनीहरुलाई न्यूनतम रकममा बेच्ने, धेरै काम लगाउने, यौन शोषण गर्ने र थोरै पारिश्रमिक दिनेजस्ता ज्यादती पनि हुँदै आएका छन् । कतिपय महिला त दलालको भरमा परेर सरकारले प्रतिबन्ध लगाएका देशमा पनि रोजगारीका लागि पुगेका छन् । त्यहाँ उनीहरु विभिन्न समस्यामा पर्दै आएका छन् । तर, वैदेशिक रोजगारीमा पुगेका महिलाको समस्या समाधान गर्न सरकार खासै चासो देखाएको देखिँदैन । पछिल्लो समय नेपालको ग्रामीण क्षेत्रबाट युवतीलाई विदेश जाने प्रलोभनसहित काठमाडौं ल्याउने र उनीहरुलाई भिजिट भिसामा दुबई पु¥याई अन्य देशहरुमा बेच्ने प्रवृत्ति बढेको छ । गाउँका सोझासाझा युवतीहरु प्नि दलालको प्रलोभनमा फस्दै आएका छन् ।
तर, उनीहरुलाई त्यो नारकीय जीवनमा फस्न नदिन सरकारी तहबाट कुनै काम हुन सकेको छैन । तर, विद्यालय तहदेखि जनचेतना छ, न विमानस्थलमा कडाइ छ, न उनीहरु विदेश पुगेपछि उद्धार र राहतमा कुनै योजना छ । यही कारणले पनि दलालहरुको मनोबल बढिरहेको छ । सरकारले केवल वैधानिक रुपमा विदेश जाने महिलाको संख्याको रेकर्ड राख्न थालेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको संख्या पछिल्लो केही वर्षयता बढ्न थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा झण्डै ५० हजार महिलाहरू रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । सरकारले महिला र पुरुष भनेर श्रम स्वीकृति लिनेको अभिलेख राख्न थालेको वर्ष २०६३/०६४ मा ३९० जना महिलाले श्रम स्वीकृति लिएकोमा १५ वर्षपछि आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार १२८ जना महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०७४ /०७५ मा छ लाख १२ हजार ६८५ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार ९६४ जना, आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख आठ हजार ८२८ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार १२३ जना, आर्थिक वर्ष २०७६/०७७ मा तीन लाख ६८ हजार४३३ जनाले श्रम स्वीकृति लिँदा २८ हजार ४२३ जना, आर्थिक वर्ष २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिँदा ११ हजार ४५६ जना, आर्थिक वर्ष २०७८/०७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिँदा ४९ हजार १२८ जना महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । तर हजारौं संख्या महिलाहरू भिजिट भिसा र भारतको बाटो हुँदै विभिन्न देशमा पु¥याइएका छन् । यसरी गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या कति छ भन्ने तथ्यांक कसैसँग पनि छैन । नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालिम प्राप्त, अनुभवी र सीपयुक्त भएका देखिन्छन् ।
सीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । जसका कारण महिलाहरू बढी हिंसामा पर्नु पुगेको देखिन्छ । त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने महिलाको संख्या ज्यादा रहेको छ ।
गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुबेत र युएई देखिन्छ । त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको पाइन्छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन सकेको देखिन्न । वैदेशिक रोजगारमा जानेहरू म्यानपावर कम्पनीबाट नै ठगिएको समेत घटना सार्वजनिक भएका छन् । घरमालिकले जथाभावी यातना दिँदा पनि उनीहरू यातना सहन बाध्य छन् । विश्वका कतिपय देशमा उनीहरू तड्पिएर बाँच्न विवश छन् । बिरानो देश, बिरानो परिवेश, न भाषा, न संस्कृति न कानुन नै मिल्छ, त्यस्तो देशमा पनि भगवान् भरोसामा रहेर नेपाली महिला श्रमिकहरू संघर्ष गरिरहेका छन् । दुःख कष्ट भोग्न विवश छन् । ज्यादै कष्टकर जीवन बिताइरहेका छन् । आफ्नो काम गरेको पारिश्रमिक नपाउनुको पीडा एकातिर छ भने पारिश्रमिक माग्दा उल्टै यातना पाउने गरेबाट पनि नेपाली महिला कामदारको विदेशमा ज्यादै दयनीय अवस्था रहेको प्रतीत हुन्छ । कति ठाउँमा नेपाली महिला श्रमिकको भविष्य सुनिश्चित छैन । थुप्रै नेपाली महिला श्रमिक कतै केयरगिभर त कतै बार डान्सर वा घरेलु कामदारका रूपमा कार्यरत छन् । अहिले दलालहरूको ठूलो नेटवर्क छ, त्यो नेटवर्कभित्र महिलाहरू पनि जोडिएका छन् । त्यही नेटवर्कभित्रका दलाल महिलाहरूले सोझा तथा आर्थिक रूपमा कमजोरहरूलाई प्रभावमा पारी विना श्रम स्वीकृति विदेश पठाइरहेका छन् । दलालहरू एकदमै चतु¥याइँका साथ आर्थिक रूपमा कमजोर महिलाहरूको मनोविज्ञान बुझ्छन् र महिला दलालको नेटवर्कसम्म सम्पर्क गराई ललाई फकाई गर्न सफल हुन्छन् । सरकारले महिलाहरूलाई जीविकोपार्जनतर्फ उन्मुख गराउने नीति ल्याउनुपर्छ । महिलाहरूलाई जनचेतनामूलक कार्यक्रमसँगै, आर्थिक सशक्तीकरणको कार्यक्रम ल्याएमा कुनै पनि महिला रोजगारीका लागि बाध्यतावश विदेश जानु पर्दैन । – जनधारणा साप्ताहिक


















