काठमाडौं न्। काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह (बालेन्द्र)ले संघीय सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन्। सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले आज बिहान सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०/९० करोडमै बन्न सक्ने बालेनको आँकलन छ। उनले नेपालमा ठूला खेल हुँदा खेल विकास हुने र करोडौं रकम आर्जन हुने दाबी गरे।
‘श्रीलंकामा खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा। नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद।’ उनले फेसबुकमा भनेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ। यस्तो मात्रै रंगशाला र केहि ठूला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ।’
उनले खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेको जानकारी दिए। सोमबारको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो। नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ। गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए।
यस्तो छ बालेनको भनाई
फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो, “यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?” श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए।
त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बीचमा थियो। नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए। अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला।
टिभीमा देखिने बिराट,रोहितहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ। उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो। खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो। विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन। तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो। ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ। अन्तिम नतिजा जे आएपनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ।
गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद।
यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ। यस्तो मात्रै रंगशाला र केहि ठूला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ। त्यो बाहेक खेलाडि र तल्लो तह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरिसकेको छौ।


















