अस्कर अवार्डमा ‘हल्कारा’ छनोट

3

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि यसपालि विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ छनोट भयो। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले उक्त फिल्मलाई सिफारिस गर्ने निर्णय गरेको हो।

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको सुखद् यात्रा गरेको यो फिल्म गत वैशाखमा प्रदर्शन भयो। तर हलहरूमा ‘हल्कारा’ले सुखद् अनुभव बटुल्न सकेन। समीक्षकहरूबाट प्रशंसा पाएको यो फिल्मले पर्याप्त दर्शक नपाउँदा छोटो समयमै हलबाट उत्रिनु पर्योि।

यद्यपि फिल्मले सिनेमाप्रेमीहरूमाझ राम्रो छाप छाड्यो।

यसपालि अस्करमा छनोट भएपछि फिल्मका निर्देशक विक्रम सापकोटा र अभिनेता महेश त्रिपाठीले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका छन्। ‘रोमाञ्चक समाचार साझा गर्न पाउँदा हामी खुसी छौं। हामी छनोट समितिलाई हार्दिक आभार व्यक्त गर्दछौं र चलचित्र जगतमा यो उल्लेखनीय उपलब्धिको लागि सम्पूर्ण कलाकार, टोली र निर्माण टोलीलाई बधाई दिन्छौं,’ निर्देशक सापकोटाले लेखेका छन्।

यसरी फुरेको थियो कन्सेप्ट
फिल्मका निर्देशक विक्रम सापकोटा करिब २ दशकदेखि अमेरिकामा बस्दै आएका छन्। उनले सन् २०१३ देखि स्क्रिप्ट लेख्न सुरु गरेका थिए। विक्रम अमेरिकाले बेला बेलामा लडिरहेको युद्धबारे सोच्थे। अनि गोरखाली सम्झन्थे। ‘नेपालमा अर्काको युद्ध लड्ने क्रममा लामो समयपछि चिठ्ठी आयो होला। त्यस्तो बेला हुलाकीको लापरबाहीले के हुन्थ्यो होला,’ उनले निकै समय मन्थन गरे।

त्यसपछि अमेरिका र नेपाल आवतजावत गरे। नेपालका विभिन्न भूगोलमा गएर चिठीयुगको मनोविज्ञान र कथाबारे अध्ययन गरे।

पटकथा लेखक स्वयम् फिल्मको निर्देशक थिए। रोचक कुरा त लेखक र निर्देशक मात्र हैन, फिल्मको सम्पादक पनि विक्रम स्वयम् थिए।

फिल्ममा चुठीयुगमा वैदेशिक रोजगारीमा जाने युवाहरूको अवस्था चित्रण गरिएको छ। वैदेशिक रोजगारीमा जाने श्रीमान्लाई पर्खिरहने श्रीमतीको पर्खाइको कथा छ। छोरा पर्खिरहेका आमाहरूको कथा छ।

Sagarmatha cement
nimb

फिल्ममा लिड एक्टर महेश त्रिपाठी र विनिता थापामगर हुन्।

क्यारेक्टरले पाएको प्रशंसा
फिल्मका निर्माता रामकृष्ण पोखरेलले महेश र विक्रमको बीचमा ‘हुलाकी’को काम गरेका थिए। विक्रमले यसअघि ‘उम्दा’ कलाकारलाई पनि अडिसनमा नउभ्याएका हैनन्। तर ‘राम’को अभाव उनीहरूको अनुहारमा खड्कियो।

‘सरकार राम भेटिएन। चित्तै बुझेन मलाई,’ विक्रमले आरकेलाई सुनाए।

आरकेले तत्काल एक युवकको फोटो देखाए। विक्रमले हेरे, ‘अनुहार फोटोजेनिक छ।’

आरकेले मन चोर्न महेशलाई स्क्रिप्ट पठाइदिएछन्। २/४ लाइन पढेर स्क्रिप्ट पन्छाउने स्वभावका मशेलाई यो कथाले पनि तानिरह्यो। उनी बगिरहे। एक बसाइमै सकाए। मनमा लोभ पलायो, ‘यो क्यारेक्टर मैले गर्न पाए।’

आरकेमार्फत् अभिनेता र निर्देशकको भेट भयो। अडिसन भयो। दुवैले दुवैलाई विश्वास गरे। त्यसपछि सुरु भयो काम।

‘दुवै कलाकारको क्यामेरामा प्रिजेन्स यस्तो बबाल थियो कि एक समयपछि म बोल्नै छाडिदिएँ,’ विक्रम सुनाउँछन्।

विनिता थापामगरले मियाकुमारीको भूमिका पाउँदाको प्रसंग पनि रोचक छ। विनितालाई एक जना साथीले फिल्मका अडिसनका लागि सुझाएका थिए। सुरुमा अलमल भए पनि पछि कथासार पढेपछि उनले अडिसनमा जाने मन बनाइन्। उनले पहिलो अडिसन भिडिओमार्फत् दिइन्। उनी छानिइन्। दोस्रो अडिसनमा महेश र उनको केमेस्ट्री मिल्यो।

फिल्ममा यी दुई पात्रको अभिनयलाई खुब रुचाइएको थियो।

यो फिल्मबाट ‘अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टन’मा महेशले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेका थिए। त्यसैगरी सर्वोत्कृष्ट फिल्म र छायांकन विधामा पनि फिल्मले समेत अवार्ड जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here