बाजुराका बस्तीमा भूकम्पको त्रास

28

बाजुरा। बर्खाको समय बाढीपहिरोबाट जोगिएका स्थानीयलाई अहिले फेरि भूकम्पको त्रास पसेको छ । बर्खाको समय बाढीपहिरोबाट जोगिँदै आएका यहाँका स्थानीयको अहिले फेरि भूकम्पले घर चर्किएपछि उनीहरू त्रसित बनेका हुन् ।

बर्खाको समय गाउँमाथिबाट आएको पहिरोले घर बगाउँछ कि भन्ने डरैडरमा बास बस्नु परेको थियो । अहिले फेरि भूकम्पको त्रासमा रात काट्नु परेको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका पदम सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक दुई दिन भए कतै गएर त्रिपालमा बास गराैँ भन्नु, परिवार ठुलो छ । बर्खाको समय लेकमा गएर बास बस्यौँ । अब हिउँद लाग्यो, यहाँ धेरै चिसो हुन्छ । त्यो चिसोमा कहाँ गएर रात काट्ने निकै चिन्ता लागेको छ ।”

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–५ को डोगडी बस्ती पछिल्लो समय बाढीपहिरोको समेत निकै जोखिममा छ । डोगडीवरिपरि रहेका सिमगाड, भुजनगाड, चौलाह खोलाले बर्सेनि जमिन काट्दै गएपछि बस्ती जोखिममा छ ।

यस्तै पीडा जिल्लाका जगनाथ, स्वामिकार्तिक, बडीमालिका, गौमूल, बूढीगङ्गा, त्रिवेणीलगायतका स्थानीयवासीको पनि समस्या उस्तै हो । बाजुराको नौवटै स्थानीय निकायमा झन्डै दुई हजारभन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा छन् । दुई वर्षयता बाजुरामा झन्डै दुई हजारभन्दा बढी गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा छन् ।

असोज १६ गते बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पले बाजुरामा पनि भौतिक रूपमा ठुलो क्षति भएको छ । बाजुरामा १२६ घर पूर्ण, १७६ घर आंशिक र ३०७ घर सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

असोज १६ गते गएको भूकम्पले बाजुराका खप्तड छेडेदह, बडीमालिका, बुढीगङ्गा र जगनाथ गाउँपालिकामा क्षति गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जनाएको छ ।

यति बेला भूकम्पबाट प्रभावित घरपरिवारलाई जिल्ला विपत् व्यवस्थापन रेडक्रस तथा गैरसरकारी संस्थाबाट त्रिपाल वितरण गर्ने काम भइरहेको छ । बाँकी खाद्यान्न सहयोगका लागि गृह मन्त्रालय तथा प्रदेश सरकारसँग रकम माग गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here