पोखरा । गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।
‘कारागारले एक महिनाभित्र तिर्छौं भनेर कमिट्मेन्ट गर्नुभएको छ । सीडीओ साबले नै भन्नुभयो’, प्रमुख सिंहले भने, ‘जडान जरिवाना तिराएर कारागारमा साँझ पुनः लाइन जडान गरिसकेका छौं ।’
उनका अनुसार केही समयअघिसम्म कास्कीका अधिकांश सरकारी कार्यालयले महसुल नतिरेको पाइएपछि बाध्य भएर लाइन काट्नु परेको हो । यसअवधिमा थुप्रै सरकारी कार्यालयले बक्यौता चुक्ता गरिसकेको सिंहले जानकारी दिए । उनले भने, ‘मन्त्रीका क्वार्टरहरुमा पनि लाइन काटेका थियौं । अहिले त सबैले तिरिसक्नुभयो ।

















