राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ

56

वीरगञ्ज । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ।

पर्सागढी नगरपालिका- ९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो।

गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेकामा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ सखुवनिय टोका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेको प्रहरी निरीक्षक केसरीले जानकारी दिए।

पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here