राजनीतिक अस्थिरता व्यावसायिक वातावरणको प्रमुख अवरोध

37

काठमाडौं। राजनीतिक अस्थिरतालाई  नेपालको निजी क्षेत्रले व्यावसायिक वातावरणको अवरोधको मुख्य कारण मान्ने पाइएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘इन्टरप्राइज सर्भेज २०२३’ को सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । सर्वेक्षणमा सहभागी निजी क्षेत्रका संस्थामध्ये ४१.२ प्रतिशतले राजनीतिक अस्थिरतालाई व्यावसायिक वातावरणको सबैभन्दा ठुलो अवरोध मान्ने तथ्य फेला परेको हो ।

राजनीतिक स्थिरतापछि निजी क्षेत्रले वित्तीय पहुँच र करको दरलाई अर्को व्यावसायिक वातावरणको अवरोधक मानेका छन् । सर्वेक्षण अनुसार यस्तो प्रतिक्रिया दिनेमा समान ११.९ प्रतिशत संस्था छन् ।

त्यसपछि ९.१ प्रतिशत निजी संस्थाले व्यापारसम्बन्धी नियमनलाई अवरोधका रूपमा लिएका छन् ।  विद्युत्को पहुँच बढेको र औद्योगिक क्षेत्रलाई पर्याप्त भएको भनिए पनि निजी संस्थाले त्यसलाई अझै स्वीकार नगरेको देखिन्छ । सर्वेक्षणमा ७.९ प्रतिशतले संस्थाले विद्युत्लाई नै सबैभन्दा ठुलो अवरोध मानेको देखिएको छ ।

अनौपचारिक क्षेत्रलाई पनि निजी संस्थाले अवरोध मान्ने गरेको सर्वेक्षणमा देखिएको छ । सर्वेक्षणमा सहभागी ५.१ प्रतिशत संस्थाले अनौपचारिक क्षेत्रलाई कारण देखाएका छन् ।

भ्रष्टाचारलाई देशकै मुख्य समस्याका रूपमा देखाइए पनि निजी संस्थाले भने व्यावसायिक वातावरणमा त्यसलाई त्यति धेरै ठुलो कारण मानेको देखिएन । केवल ४.२ प्रतिशत संस्थाले मात्र भ्रष्टाचारलाई यस्तो कारण मानेको सर्वेक्षणमा उल्लेख छ । त्यस्तै सर्वेक्षणमा २.४ प्रतिशत संस्थाले यातायात, २.३ प्रतिशत संस्थाले अशिक्षित कामदार र १.८ प्रतिशत संस्थाले भूमिको पहुँचलाई व्यावसायिक वातावरणको सबैभन्दा ठुलो अवरोध मानेको पनि सर्वेक्षणले उजागर गरेको छ ।

सर्वेक्षणमा विभिन्न उपविधामा पनि व्यावसायिक संस्थाबाट प्रतिक्रिया लिइएको छ । जसमध्ये नियमन र कर, भ्रष्टाचार, व्यवस्थापन अभ्यास, पूर्वाधार अनौपचारिक क्षेत्र, वित्त, नवप्रवर्तन र प्रविधि, व्यापार र कार्यक्षेत्र समेटिएको छ । यसमध्ये व्यवस्थापन अभ्यासमा नेपालका व्यावसायिक संस्था विश्व औसतभन्दा कमजोर देखिएका छन् । पूर्वाधार अन्तर्गत धेरै संस्थाले विद्युत्को आपूर्तिलाई समस्याका रूपमा उल्लेख गरेका छन् । नवप्रवर्तन र प्रविधिको उपयोगमा पनि सहभागी संस्थाको बलियो उपस्थिति देखिएको छैन । महिला नै सञ्चालक रहेका संस्था पनि विश्व औसतको तुलनामा कम देखिएको छ ।

सर्वेक्षणमा सहभागी व्यावसायिक संस्थालाई तोकिएका अन्य कारणमध्ये व्यावसायिक अनुमतिपत्र र अदालतलाई भने व्यावसायिक वातावरणमा कुनै अवरोधक नमानेको पाइएको छ । त्यस्तै कर प्रशासन र अपराध तथा चोरीलाई पनि अत्यन्त कम संस्थाले मात्र अवरोधका रूपमा हेर्ने गरेको देखिएको छ ।

सर्वेक्षणमा कुल ५८२ निजी क्षेत्रका संस्था सहभागी थिए । २०२३ मेदेखि २०२३ अगस्तसम्म गरिएको अन्तर्वार्ताका आधारमा सर्वेक्षण तयार गरिएको विश्व बैङ्कले जनाएको छ । सर्वेक्षणमा सबैभन्दा धेरै अर्थात् २१५ वटा उत्पादनमूलक, ११३ वटा होटल, ८७ वटा खुद्रा व्यवसाय र १६७ वटा अन्य सेवा प्रदान गर्ने निजी क्षेत्र समेटिएको उल्लेख छ । जसमध्ये ९२ वटा ठुला, १८९ वटा मझौला र ३०१ वटा साना व्यावसायिक संस्था रहेका छन् ।   विश्वास रेग्मी गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here