काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् ।
मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले एनसेलमा घोटाला भएको सहजै अनुमान गर्न सकिने बताएका हुन् ।
महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने जनाए ।
मलेसियाको कम्पनी आजियटाले हालै आफ्नो एनसेलमा रहेको स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको छ । उक्त खरिदबिक्री शंकास्पद भन्दै नेपालभित्र छानबिन हुनुपर्ने माग भइरहेको छ ।
महामन्त्री थापाले नागरिकका साना साना काम पनि नभएका कारण सरकारप्रति आक्रोश बढेको बताए । अर्थतन्त्रको अवस्था मन्त्रालयको खाता पल्टाएर मात्रै नदेखिने भन्दै उनले थपे, ‘तथ्यांकले केही सकरात्मक कुराको संकेत गरेको छ । तर, गाउँ गाउँ डुलेर हेर्यौं भने किसानहरुको रुवावासी छ ।’ बैंकबाट ऋण लिएर सानो सानो व्यवसाय गर्नेको अवस्था नाजुक बनेको उनले धारणा राखे ।


















