विश्वभर हरेक दिन ३२०० भन्दा बढीको मृत्यु सडक दुर्घटनाबाट मृत्यु

30

काठमाडौं । विश्वभर प्रति मिनेट २ जनाभन्दा बढी र प्रतिदिन ३२०० बढीको मृत्यु सडक दुर्घटनाबाट हुने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो प्रतिवेदनअनुसार सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २०१० यता ५ प्रतिशतले घटेपनि त्यो दर वार्षिक ११ लाख आसपास छ । प्रतिवेदनअनुसार सडक दुर्घटनाबाट सबैभन्दा धेरै ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका र युवाहरूको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सडक दुर्घटना विश्वव्यापी स्वास्थ्य संकटका रूपमा रहेको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार सडक दुर्घटनाका कारण मृत्यु हुनेहरूको संख्या प्रति वर्ष घट्दै गइरहेको भए पनि त्यो पर्याप्त भने छैन । ‘सडक दुर्घटनामा मृत्यु हुनेहरूको संख्या तल झरिरहेको छ, तर त्यो द्रुत गतिमा छैन,’ उनले भने, ‘हाम्रो सडकमा भइरहेको नरसंहार रोक्न सकिन्छ । हामी सबै देशहरूलाई यातायात प्रणालीको केन्द्रमा गाडीहरूको साटो मानिसहरूलाई राख्न र पैदल यात्री, साइकल यात्रीका साथै अन्य कमजोर सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्दछौं।’

संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूमध्ये १०८ देशहरूले २०१० र २०२१ को बीचमा सडक ट्राफिकसम्बन्धी मृत्युमा कमी आएको दाबी गर्दै तथ्यांक पेस गरेका छन् । दश देशहरूले सडक दुर्घटनाका कारण हुने मृत्युलाई ५० प्रतिशतभन्दा बढीले घटाउन सफल भएका छन् । त्यसमा बेलारुस, ब्रुनाई, डेनमार्क, जापान, लिथुआनिया, नर्वे, रूसी संघ, ट्रिनिडाड एन्ड टोबागो, संयुक्त अरब इमिरेट्स र भेनेजुएला छन् । यस्तै, थप पैंतीस देशहरूले ३० देखि ५० प्रतिशतसम्म सडक दुर्घटनाबाट हुने मृत्युलाई घटाएका छन् ।

प्रतिवेदनले विश्वको सडक दुर्घटनाबाट हुने मृत्युमध्ये २८ प्रतिशत दक्षिण-पूर्वी एसिया क्षेत्रमा, २५ प्रतिशत पश्चिमी प्रशान्त क्षेत्रमा, १९ प्रतिशत अफ्रिकी क्षेत्रमा, १२ प्रतिशत अमेरिकाको क्षेत्रमा, ११ प्रतिशत पूर्वी भूमध्ये क्षेत्रमा र युरोपेली क्षेत्रमा ५ प्रतिशत रहेका छन् । कम र मध्यम आय भएका देशहरूमा सडक दुर्घटनामा पर्ने १० मध्ये नौ जनाको मृत्यु हुन्छ । उच्च आय भएका देशहरूको तुलनामा कम आय भएका देशहरूमा मृत्युको जोखिम ३ गुणा बढी हुन्छ, तर न्यून आय भएका देशहरूमा विश्वको कुल गाडीको १ प्रतिशत मात्रै छ।

सबै सडक दुर्घटनामा मृत्युमध्ये ५३ प्रतिशत असुरक्षित सडक प्रयोगकर्ताहरू समावेश छन् । सडक दुर्घटनामा मृत्यु हुनेमध्ये पैदल यात्रीहरू (२३प्रतिशत), मोटरसाइकल जस्ता दुई र तीनपाङ्ग्रे सवारी साधनका सवारहरू (२१ प्रतिशत ), साइकल चालक (६ प्रतिशत), र माइक्रो-मोबिलिटी उपकरणहरू जस्तै ई-स्कुटरहरू (३ प्रतिशत) को प्रयोगकर्ताहरू छन् । कार र अन्य ४-पाङ्ग्रे हल्का गाडीमा सवारहरूको मृत्यु थोरै घटेर ३० प्रतिशतमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here