काठमाडौं । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।
पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको जानकारी दिए ।
५९ उद्योगका पौनै दुई करोड सिलिन्डर उपभोक्ताका घरमा छन् । विगतका वर्षमा एउटा घरमा तीन वटा सिलिन्डर बराबर एक सिलिन्डर मासिक ग्यास खपत हुने गरेकामा अहिले आएर त्यसमा २० देखि ३० प्रतिशतसम्म ग्यास खपत घटेको उनको भनाइ छ ।
निगमका अनुसार चालु आवको साउन महिनामा ४० हजार ४५६ मेट्रिक टन आयात भएको छ । यस्तै भदौ महिनामा ४५ हजार ९५९ मेट्रिक टन, असोज महिनामा घटेर ३८ हजार ८८६ मेट्रिक टनमा झरेको छ ।
यस्तै कात्तिक महिनामा ४२ हजार ६८६ मेट्रिक आयात भएकामा मङ्सिर महिनामा ४३ हजार ५१२ मेट्रिक टन ग्यासको आयात भएको छ । सामान्यतया बजारमा मासिक ४२ हजार ६०६ मेट्रिक टन ग्यास खपत हुने गर्छ ।
पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द थापाले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए ।
आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ । ग्यासको खपत घटेसँगै गत आवमा ग्यासको आयातमा कमी आएको छ । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

















