‘भारत जीपीटी’ आउँदै

27

काठमाडौं । रिलायन्स जिओले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईसँग सहकार्य गरेर आर्टिफिसियल इन्टेलिजेन्स टुल ‘भारत जीपीटी’ बनाउने भएको छ । बुधवार आईआईटी बम्बईमा आयोजित टेकफेस्ट कार्यक्रममा कम्पनीका अध्यक्ष आकाश अम्बानीले नयाँ एआई परियोजना ‘भारत जीपीटी’को घोषणा गरेका हुन् ।

दूरसञ्चार र प्रसारण क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको रिलायन्स जिओले एआई क्षेत्रमा पनि आफूलाई स्थापित गर्न यो परियोजना अगाडि ल्याएकाे हाे । यसअन्तर्गत कम्पनीले आईआईटी बम्बईसँगको जोइन्ट भेन्चरमार्फत नयाँ एआई प्रोजेक्ट ‘भारत जीपीटी’ सुरु गर्नेछ ।

भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक समेत रहेको जिओले २०२४ को पहिलो केही महिनाभित्र यो टुल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । “हामीले भारत जीपीटी कार्यक्रम सुरु गर्न आईआईटी बम्बईसँग एउटा परियोजनामा काम गरिरहेका छौं,” अम्बानीले भने, “हामी एआईलाई हाम्रो सङ्गठनभित्र मात्र नभई सबै क्षेत्रहरूमा सुरु गर्न कडा मेहनत गरिरहेका छौं ।”

अबको १० वर्ष लार्ज ल्याङ्ग्वेज मोडेल र जेनेरेटिभ एआईले परिभाषित गर्ने उनले बताए । भारत जीपीटी र जिओको अन्य एआई परियोजना मिडिया स्पेस, कमर्स, दूरसञ्चार र उपकरणका लागि उपयोगी हुने उनको भनाइ छ । भारत जीपीटीलाई जिओ टेलिकम उत्पादनका लागि एआईको रूपमा विकसित गरिने अपेक्षा गरिएको छ । ठूलो लगानी भएको जिओले ल्याउने एआई टुलले भाइरल एआई मोडेल ‘च्याटजीपीटी’लाई टक्कर दिनसक्ने अपेक्षा गरिएको छ ।

त्यस्तै अम्बानीले जिओ टेलिभिजनका लागि आफ्नै अपरेटिङ सिस्टममा काम गरिरहेको खुलासा गरेका छन् । “हामी अहिले टेलिभिजनका लागि आफ्नै अपरेटिङ सिस्टम बनाइरहेका छौं,” उनले भने, “यसलाई कसरी सार्वजनिक गर्ने भन्नेबारे सोचिरहेका छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here