पुटिनको आदेशले नेपालमाथि चुनौती थपिए

28

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशले नेपालमाथि चुनौती थपिएको छ ।

गएको बिहीबार अर्थात् पुस १९ गते पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए । पुटिनले युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोराछोरी र बाबुआमालाई त्यहाँको नागरिकता प्रदान गर्न अनुमति दिएका हुन् ।

रुसी सेनामा भर्ती हुनेले कम्तीमा एक वर्षका निम्ति सेनामा रहने सम्झौता गरेको खण्डमा ऊ र उसको परिवारका सदस्यलाई सुरुमै त्यहाँको नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले जनाएका छन् ।

रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारका सदस्यले आवेदन दिएपछि त्यहाँको नागरिकता र पासपोर्ट दिने प्रक्रिया सुरु गरिने आदेशमा उल्लेख छ । यो प्रक्रियाको टुंगो एक महिनामा लाग्ने जनाइएको छ ।

पुटिनले यस्तो बेला नयाँ आदेश जारी गरेका छन्, जति बेला नेपालले त्यहाँको सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुसलाई भनिरहेको छ ।

नेपालले रुसी सेनामा भर्ती भई मारिएका नेपालीको शव पठाउन, उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र भर्ती हुनेको पूर्ण विवरण मागिरहेको छ । रुसी सेनामा भर्ती हुन जानेलाई रोक्न नेपाल सरकारले अनेक प्रयास गरिरहेको छ । यही बेला पुटिनले नेपालीसहित विदेशी नागरिकलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here