काठमाडौं । लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बमजनबिरुद्ध बारा प्रहरीमा दुईवटा जाहेरी परेका छन्। यसअघि सर्लाही प्रहरीमा परेको जाहेरीका आधारमा समातिएका बमजन अहिले महोत्तरी कारागारमा पुर्पक्षका लागि थुनामा छन्।
बारा प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार बमजनबिरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुर र बेपत्ता पारिएको सम्बन्धी कसुरमा जाहेरी परेका छन्। सर्लाहीको बाग्मती नगरपालिका-१२ की रिता वोटको परिवारले बमजनविरूद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएको हो भने बाराका सुरेश आलेमगरलाई बेपत्ता पारेको भन्दै परिवारले जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ।
यसअघि सर्लाही जिल्ला अदालतले बमजनले १२-१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। बमजन गत बुधबार काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका हुन्।


















