काठमाडौं । काठमाडौंमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो ।
त्यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्ती पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा छाप्रो, भैँसी ३ वटा, भैँसीको दाना, भुसा, पिना, ढुटो, पराल, भुसा काट्ने चाँप कटर मेसिन १ थान र अन्य सरसामान गरी १० लाख २३ हजार ३ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका-७ हरिपुर बस्ने प्रितम दासको गोठमा गएराति आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर करिब २२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने हीरामणि देवी शर्माको घर, घरभित्र रहेको नगद १ लाख २० हजार र काठ चिर्ने मेसिन गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाराको कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने ५८ वर्षीय द्वारिका साह कानूको गोठमा गएराति आगलागी हुँदा करिब ५ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















