काठमाडौं । विश्व प्रख्यात हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन् । केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन् ।
बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको स्रोतले जनाएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् ।

उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।
सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । उनले ‘द वन’ (२००१) र ‘वार’ (२००७) मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ (२००८) मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सह-अभिनय गरेका थिए ।


















