डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता

20

काठमाडौं । प्रहरी प्रमुख वसन्तराज कुँवरले आफ्ना ब्याची त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता गरेका छन्। प्रहरी सेवामा २९ वर्ष बिताएका डीआईजी चन्दको राजीनामाले राम्रो सन्देश नजाने भन्दै प्रहरी प्रमुख चन्द र प्रहरीको मानवस्रोत विभागका प्रमुख एआईजीले उनलाई राजीनामा नदिन सुझाएका थिए।

कुँवरले चन्दलाई तत्कालै प्रहरी सेवाबाट गुमाउन नचाहेपछि मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईले ‘चन्दको राजीनामा रितपूर्वक नभएको’भन्दै फिर्ता गरिदिएका थिए।

प्रहरी प्रधान कार्यालयमा आइतबार पुगेको चन्दको राजीनामामाथि प्रहरी प्रमुख कुँवर, एआईजी राई र डीआईजी चन्द बसेर सोमबार छलफल गरेका थिए। कुँवर र राईले चन्दलाई राजीनामा नदिन सुझाव दिएका थिए।

यही मेसोमा मानव स्रोत साधन विभाग प्रमुख राईले चन्दको राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता पठाएका थिए भने चन्दलाई १० दिन बिदामा बस्न सुझाव पनि कुँवर र राईले दिएका छन्।

विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीचको तिक्तताबीच त्यहाँका डीएसपी, असई र जवानलाई कारबाही गरिएको घटनामा चन्द रुष्ट थिए। यद्यपि उनले राजीनामापत्रमा भने व्यक्तिगत कारण भनेका छन्।

प्रहरीको एक उच्च स्रोतका अनुसार प्रहरी नेतृत्व चन्दलाई असमयमै गुमाएर नराम्रो सन्देश दिन चाहँदैन। यसैका लागि चन्दलाई रोक्ने प्रयास प्रहरी नेतृत्वले गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here