२०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने : ओली

41

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने जनाएका छन्। सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गए पनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने  जनाए।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवर्द्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गरे। राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिशन–२०८४ बनेको उनको भनाइ थियो।

उनले भने, ‘देशका लागि परिवर्तन आवश्यक छ, हुनुपर्छ। र जेसुकै परिवर्तन भए पनि हामी मिसन २०८४ छोड्दैनौं। नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य जुन हो। यो मिशन २०८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै होइन। त्यो भन्दा माथिको कुरा छ यो। राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन २०८४ बनेको हो। त्यो मापन केबाट हुन्छ भन्दा निर्वाचनबाट हुन्छ।’

अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गरे। विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाइ थियो। अध्यक्ष ओलीले मजदुरहरुको न्यूनतम ज्याला पाउने कुरा समेत कानुनमा व्यवस्था गरिएको उल्लेख गर्दै उनले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here