सुन तस्करी प्रकरणमा सिआइबी त्रुटी गरेको भन्दै बज्राचार्यलाई पदबाट हटाउने तयारी

41

काठमाडौं । सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी गरेको छ ।

सुन तस्करी प्रकरणमा सिआइबी त्रुटी गरेको भन्दै बज्राचार्यलाई सिआइबी प्रमुख पदबाट हटाउने तयारी भएको स्रोतले जनाकारी दिएको छ । अवैध सुन तस्करीमा प्रकरणको अनुसन्धान कार्यमा त्रुटी गर्दै पूर्वसभामुख  कृष्णबहादुर महरालाई उन्मुक्ति  दिएको सुन तस्करी छानबिन गर्न गठित समितिले निष्कर्ष निकालेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको समितिले महरालाई सुन तस्करीमा संलग्न रहेको भए पनि सिआइबीको छानबिनले उन्मुक्ति दिएको ठहरसहितको प्रतिवेदन बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो । सोही प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार पुगेर हस्तान्तरण गरेका छन् ।

स्रोतका अनुसार गृहमन्त्री लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीसहितका अधिकारीहरूलाई बोलाएर एआइजी बज्राचार्यलाई कारबाही गर्न निर्देशन दिएका थिए। गृहमन्त्रीले आज बिहान प्रधानमन्त्री दाहाललाई बुझाएको प्रतिवेदनमा बज्राचार्यलाई विभागीय कारबाही गर्न सुझाइएको थियो । सोही अनुसार प्रधानमन्त्रीले सो विषयमा कारवाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

त्यसलगत्तै गृहमन्त्री लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई मन्त्रालयमा बैठक बोलाएर एआइजी बज्राचार्यमाथि विभागीय कारबाही गर्न निर्देशन दिए । दोस्रो पटक मुलुकको गृहमन्त्री बनेका लामिछानेले पदबहाली गरेको तेस्रो दिन नै सुन तस्करी प्रक्रियाको फाइल अगाडि बढाएका हुन् । यसअघि नागरिकता प्रकरणका कारण सांसद् पद खारेजी भएका लामिछाने चितवन-२ मा भएको उपनिर्वाचन मार्फत् पुन:संसदमा फर्किएका हुन् ।

पदमुक्त हुन लागेका बज्राचार्य नेतृत्वको सिआइबीले रविको सहकारी प्रकरणमा संलग्नताबारे पनि अनुसन्धान गरिरहेको थियो । गत असोज १५ गते गठित पूर्वन्यायाधीश आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी जाँचबुझ, २०८० मा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए । त्यस्तै, समितिले छानबिनमा संलग्न रहेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारवाहीको सिफारिस गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here