काठमाडाैं । सातौँ संस्करणको अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला यही चैत १६ गतेदेखि सुरु हुँदै छ। महिला उद्यमी महासंघ नेपालको आयोजनामा हुन लागेको मेला चैत २० गतेसम्म सञ्चालन हुनेछ।
सानेपास्थित हेरिटेज गार्डेनमा हुने मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। ग्रामीण क्षेत्रका महिला उद्यमीहरूको उद्यमशीलता पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
मेलामा नेपालभरका लघु, साना तथा मझौला महिला उद्यमीदेखि अन्तर्राष्ट्रिय मुलुकका महिला उद्यमीहरूको समेत सहभागिता रहने बताइएको छ। एक सय १२ स्टलबाट भारत, बंगलादेश, पाकिस्तानलगायतका विदेशी महिला उद्यमीहरूको उत्पादन किन्न र अवलोकन गर्न पाइनेछ
मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा बुनेका सामानहरू, गलैँचा, हातेकागजका वस्तु, जडीबुटी, गरगहनालगायतका वस्तु प्रदर्शनीमा राखिनेछ।

















