संसदीय छानबिन समितिको टीओआरमा आज पनि निष्कर्ष बिहिन

28

काठमाडौं ।  सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ।

सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको बैठकमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए।  ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ उनले भने।

छानबिन समितिको कार्यादेशमा आफूले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ। ‘गृहमन्त्री रवि लामिछानेको नाम नै देखेर जाँदा उपयुक्त हुन्छ। नाम राखेर जानेमा आपत्ति नहुनुपर्ने हो। नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको बटमलाइन छ,’ उनले भने, ‘नाम राखेर जानुपर्छ भन्ने हाम्रो पनि अडान कायम नै छ।’

प्रधानमन्त्रीले आज साँझसम्म दुवै पक्षको कुरा सुनेर सहमतिमा पुग्ने विश्वास दिलाएको उनले बताए । योसँगै कांग्रेसले आज दिउँसो १ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको परियारले जनाए ।

‘हाम्रो पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्छ। उहाँहरू पनि छलफल गर्नहुन्छ। साँझ प्रधानमन्त्रीले बोलाउनुहुन्छ होला,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here