वेस्टइन्डिज सुपर आठमा प्रवेश

21

एजेन्सी । टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ मा वेस्टइन्डिजले लगातार तेस्रो जित निकाल्दै सुपर आठमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहीबार विहान भएको खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्टइन्डिजले लगातार तेस्रो जित निकाल्यो। लगातार दोस्रो हारसँगै न्युजिल्यान्डको अघिल्लोचरणको यात्रा भने कमजोर बनेको छ।

त्रिनिडाड स्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा न्युजिल्यान्डले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २०ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। एक समय ३० रन जोड्दा ५ विकेट गुमाएको वेस्टइन्डिजलाई छैटौं नम्बरमा ब्यटिङका लागि आएका सर्फन रुथफोर्डले  उत्कृष्ट इनिङ खेल्दै प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए।

वेस्टइन्डिजका रुथफोर्डले ६८ रनको अर्धशतकीय अबिजित इनिङ खेलेका थिए। त्यस्तै निकोलस पुरनले १७ रन बनाएँदा अकिल होसेइनले १५ तथा आन्द्रे रसेलले १४ रन बनाए। रोमारियो सेफर्डले १३ रन बनाए। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिंदा टिम साउदी, लक्की फर्गुसनले २-२ विकेट लिए। त्यस्तै जेम्स निसम र मिचेल स्यान्टनरले समान १-१ विकेट लिएका थिए।

१ सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको न्युजिल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो। उसक लागि ग्लेन फ्लिप्सले ४० रन बनाउँदा फिन एलेनले २६ रन बनाए। त्यस्तै मिचेल स्यान्टनरले अन्तिम समयमा ३ छक्काको सहयोगमा २१ रन बनाएपनि टिमको हार टार्न पर्याप्त भएन। थप दोहोरो स्कोरका रुपमा ड्यारी मिचेलले १२ रन बनाउँदा रचिन रविन्द्र र जेम्स निसमले समान १०-१० रन बनाए।

वेस्टइन्डिजका लागि अल्जारी जोसेफले ४ विकेट लिंदा गुडाकेश मोटाइले ३ विकेट लिए। त्यस्तै अकेल होसेइन र आन्द्रे रसेलका नाममा १-१ विकेट रह्यो।

समूहमा वेस्टइन्डिज तीन जितसहित ६ अङ्क बनाएर शीर्ष स्थानमा रह्यो। त्यस्तै अफगानिस्तान २ खेलमा २ जितसहित दोस्रो स्थानमा रहँदा युगान्डा १ जित सहित तेस्रो स्थानमा छ। त्यस्तै पपुवा न्युगिनी र न्युजिल्यान्ड दुई खेलमानै पराजित हुँदै क्रमश चौंथो र पाँचौं स्थानमा छन्। अब भोली विहान हुने खेलमा अफगानिस्तानले पिएनजीलाई हराए न्युजिल्यान्ड औपचारिक रुपमा प्रतियोगिताबाट बाहिरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here