कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको आरोपमा पक्राउ

47

काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले  जानकारी गराएकाे छ ।

भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।

‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो ।

नेपालको प्रचलित कानुन अनुसार कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

मुलुकी अपराध संहिता २०७५ ले कुनैपनि पशुप्राणीलाई क्रुरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । कानुन विज्ञ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरी कार्यलयमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिल कार्यलयमा पनि यसको उजुरी दिन मिल्छ ।

कुकुरको हत्या मात्र होइन, कुनैपनि उनीहरुलाई कुनैपनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन  नपाइने कानुनी व्यवस्था छ । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध मानिएकाे छ ।  ‘उल्लेखित कुनैपनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ’ अधिवक्ता श्रेष्ठ जानकारी गराए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here