काठमाडौं । काठमाडौं महानगरपालिकाले पिच गरेको सडक एक साता नबित्दै बिग्रिएको छ।
टेकुस्थित लगन सिमल देवताबाट चल्खु फल्चासम्म इन्द्रदह कम्पनीलाई अन्दाजी ३८ लाखमा पिच गर्न महानगरले ठेक्का दिएको थियो। एक साता नबित्दै पिच उप्किएको छ भने बाटोमा खाल्डाखुल्डि परी पानी जम्न थालेका छन्।
यसबारे हामीले महानगरको सार्वजनिक निर्माण विभागका सब- इञ्जिनियर एवं साइट इञ्जिनियर विवेक खनालसँग कुराकानी गरेका छौं।
उनका अनुसार अविरल पानीले गर्दा पिचमा क्षति पुगेको हो।
‘हामीले माटो स्केलिङको काम सकाइसकेर पिच गर्नको लागि अलकत्रा पनि हालिसकेका थियौं,’ उनले भने, ‘त्यसपछि हामीले सेमी-ग्राउटिङ गरेका थियौं। तर ग्राउटिङ गरेको भोलिपल्टदेखि लगातार वर्षा भयो। त्यसैले उक्त पिच बिग्रिएको हो।’
यस्तै पानी पर्न रोकिएपछि पिच करेक्सन गर्ने उनको दाबी छ। अर्कातर्फ ठेक्का पाएको कम्पनीको काम गर्ने समयअवधि र भुक्तानी पनि बाँकी नै रहेको उनले जनाए ।
असारे बजेट सकाउन हतार गरेर पानी परिरहेको बेला सडक पिच गरेको स्थानीयको आरोप छ।


















