काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडबाट डोजर हटाएको छ। न्यूरोडमा फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर तीनदिनपछि जुद्धशालिकबाट महानगर फिर्ता भएको हो।
फुटपाथ विस्तार गर्न गएको डोजर फिर्ता भएपछि फुटपाथ विस्तार अलपत्र परेको छ। न्यूरोड क्षेत्रमा सडकको बायाँ साइट खनेर राखिएको छ। गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको छ। तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको दबाबमा हटाइएको हो।
शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो। स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन। स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिएभने मेयर बालेन साहको समेत पुत्ला दहन गरेको थियो। साथै उनीहरु टेन्ट टाँगेर रातभर त्यही बसेका थिए। महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन। २२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजन पनि फुटपाथको विरोधमा उत्रिएका थिए।
शनिबार पनि दिनभर स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न सकेन। स्थानीयको चौतर्फी विरोधपछि महानगर आज विहानै उक्त ठाउँबाट डोजर हटाएको हो। ३२ वटै वडाका केही वडाध्यक्षहरु र सदस्यहरु फुटपाथको विरोधमा उत्रिएका छन्। उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम सुरु गर्न अवरोध नगर्न अन्तरिम आदेशदिएपछि महानगरले काम सुरु गरेको थियो।त्यसअघि गत जेठ पहिलो साता सडक डिभिजन काठमाडौं कार्यालयले अनुमति नलिई फुटपाथ विस्तार गरेको भन्दै महानगरको सामान सडकबाट जफत गर्नुका साथै उक्त सडक आफ्नो क्षेत्राधिकार पर्ने भन्दै काम अघि नबढाउन निर्देशन दिएको थियो।
२२ नम्बर वडाका वडाध्यक्ष महर्जनले महानगरले न्यूरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै सडकबाटै काम थालेका हुन् । उनले महानगरविरुद्ध फुटपाथ विस्तारको निर्णय फिर्ता गराउन दबाब दिँदै सडकबाटै वडाको काम सुरु गरेको जनाए । धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट काम सञ्चालन गरेको उनले जनाए। उनले वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर ९बजेर ५५ मिनेटदेखि काम सुरु गरेका छन् ।


















