‘पत्रकारका लागि डिजिटल सुरक्षा’ तालिम हुने

103

काठमाडौं । सीएमआर नेपाल जर्नलिजम एकेडेमीले ‘पत्रकारका लागि डिजिटल सुरक्षा’ (Digital Security for Journalists) तालिमका लागि आवेदन खुला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित यस एकेडेमीले नेपाली पत्रकारहरूका लागि काठमाडौंमा यो तालिम सञ्चालन गर्न लागेको हो ।

तालिमका लागि छनोट भएका पत्रकारलाई तालिमको शुल्कका लागि इन्टरलिङ्क एकेडेमीले फेलोशिप प्रदान गर्नेछ । यस तालिममा छनोट भएका पत्रकार पहिलो चरणमा छ दिनका लागि तालिम केन्द्रमा भौतिक रूपमा उपस्थित हुनुपर्छ ।

पहिलो चरणको तालिम २७ देखि ३२ साउनसम्म काठमाडौंमा बिहान ९ देखि ५ बजेसम्म हुनेछ । त्यसपछि दोस्रो चरणमा सात हप्ता अनलाइनबाट तालिम हुनेछ । जसमा प्रशिक्षार्थीले हप्ताको छदेखि आठ घण्टा समय एकेडेमीले जनाएको छ ।

इच्छुक पत्रकारले १९ साउनसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिन यहाँ क्लिक  गर्न सक्नुहुन्छ ।

कसले आवेदन दिन सक्छन् ?

कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरूले तालिमका लागि आवेदन दिन सक्ने एकेडेमीले जनाएको छ । यो तालिम आधारभूत तालिम भएकाले यसअघि डिजिटल सुरक्षाबारे अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्ने बताइएको छ ।

यो तालिम खासगरी डिजिटल सुरक्षा के हो, यो किन आवश्यक छ भन्ने बारेका साथै डिजिटल सुरक्षाका लागि आवश्यक पर्ने सीपहरूमा केन्द्रित हुने बताइएको छ । जोखिम मूल्याङ्कन, कम्प्युटर, मोबाइल लगायतका उपकरणको सुरक्षा, इन्टरनेट सुरक्षा, गोपनीयता, ईमेल र सञ्चार सुरक्षा, पासवर्ड, सोसल मिडिया, डेटा सुरक्षा र लागयतका विषय यस तालिममा समेटिनेछन् ।

तालिमका छनौट भएका काठमाडौं उपत्यकाका सहभागीको तालिम शुल्क एकेडेमीले बेहोर्नेछ । त्यस्तै काठमाडौं उपत्यका बाहिरका सहभागी पत्रकारको हकमा तालिम शुल्क, यातायात र आवास खर्च एकेडेमीले बेहोर्नेछ ।

भौतिक र अनलाइनबाट हुने दुवै चरणमा तालिममा सहभागी हुने पत्रकारले प्रमाणपत्र पाउने एकेडेमीले जनाएको छ ।

आवेदन दिनका लागि बायोडेटाको डक्स वा पीडीएफ पठाउनु पर्ने हुन्छ । त्यस्तै छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here