राइड सेयरिङलाई कानुनी मान्यता दिन लागेपछि यातायात सेवा ठप्प

46

काठमाडौं । राइड सेयरिङलाई कानुनी मान्यता दिन लागेपछि गण्डकीका सार्वजनिक सवारी सञ्चालकले यातायात सेवा ठप्प पारेका छन्।

गण्डकी प्रदेश सरकारले ल्याउन लागेको राइड सेयरिङसम्बन्धी कार्यविधीको विरोधमा सार्वजनिक सवारी सञ्चालकहरूले प्रदेशभर आइतबार यातायात सेवा बन्द गरेका हुन्। सार्वजनिक सवारी बन्द हुँदा पोखरासहित गण्डकीका ११ वटै जिल्लामा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्। सार्वजनिक यातायात सुविधा दिएका लामो तथा छोटो दुरीका बस, ट्याक्सीलगायत सवारी नचल्दा यात्रुलाई मर्का परेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आफूहरुले राइड सेयरिङको विरोध नगरेको दाबी गरेका छन‍्। रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने भन्दै आफूहरुले त्यसको विरोध गरेको उनले जनाए।

‘हामीले राइड सेयरिङको विरोध गरेको होइन, आजको २१ औं शताब्दीमा आएर राइड शेयरिङको विरोध गर्न सकिँदैन,’ उनले भने, ‘रातो नम्बर प्लेटमा यात्रु बोक्न पाइने भएपछि हामीलाई पनि रातो नम्बर प्लेट बनाइदिनुपर्‍यो।’ निजी सवारी साधनको नम्बर प्लेट रातो हुन्छ भने सार्वजनिक सवारीको नम्बर प्लेट कालो हुन्छ। रातो नम्बर प्लेट भएको सवारीले यात्रु बोक्न नपाउने कानुनी व्यवस्था छ।

प्रदेश सरकारले रातो नम्बर प्लेटले पनि राइड सेयरिङमार्फत् यात्रु बोक्न पाउने गरी कानुनी व्यवस्था गर्न लागेकाले विरोध गरेको पौडेलले जनाए। ‘राइड सेयरिङलाई व्यवस्थापन गर्दा हामीलाई विभेद हुन भएन नि! यात्रु बोक्न पाउने सवारी साधन कसैको रातो, कसैको कालो हुन भएन,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here