०८४ को चुनावमा पार्टीलाई सबैभन्दा बढी मत दिने रविकाे दाबी

18

सुर्खेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आगामी ०८४ को चुनावमा कर्णालीले आफ्नो पार्टीलाई सबैभन्दा बढी मत दिने दाबी गरेका छन्। शनिबार कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।

‘कर्णालीले एकपटक होइन पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाएको छ, कसले जित्यो कसले हार्‍यो त्यो थाहा छैन,’ उनले भने, ‘तर कर्णालीले जितेन, सधै हार्‍यो, त्यसैले आगामी चुनावमा कर्णालीले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ।’

सभापति लामिछानेले राजनीतिकमा आँट, तागत र ढंग यी तीन कुरा हुन आवश्यक रहेको जिकिर गरे। उनले आफूहरु आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गर्ने जनाए ।

‘तपाईहरुको यो नै अन्तिम भोज हो जे जति छ खानु, आगामी ०८४ बाट तपाईहरुलाई हामीले स–सम्मानका साथ बिदाई गर्छौं’, उनले भने। अहिलेको सरकार अनुभव र लुटेराको संगत भएको उनको आरोप छ। सभापति लामिछानेले आगामी निर्वाचनमा सबै पार्टी एक हुँदा पनि रास्वपा एक्लै चुनाव लड्न तयार रहेको दाबी गरे। पुरानो राजनीतिलाई बन्द गर्न रास्वपाको उत्पन्न भएको उनको भनाइ छ। उनले विकासमा कर्णालीलई सधै उपेक्षामा पारेको जनाए।

‘विकासमा कर्णाली छुट्यो’, उनले भने, ‘तर कर्णालीले चुनेर पठाएका एकएकका परिवारको गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन।’ लामिछानेले पुराना नेताहरुले जितेर कर्णालीले के पायो भन्दै प्रश्न गरे। उनले आगामी ०८४ को चुनावमा घण्टी चिन्ह बोक्दैमा कोही कसैले सजिलै जित्न नसक्ने जनाए ।

यस्तै कार्यक्रममा पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले शहरी मात्र नभई गाउँ गाउँमा पनि रास्वपा फैलिरहेको बताए। उनले देशमा नकारात्मक सोच बढेको भन्दै सकारात्मक सोच बोक्ने व्यक्ति पार्टी सभापति भएको उल्लेख गरे। महामन्त्री बुर्लाकोटीले चार महिना सरकारमा हुँदा रास्वपाले विधिमा गर्न मिल्ने काम मात्र गरेको बताउदै विधिभन्दा बाहिर गएर कुनै गलत कुकर्म नगरेको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here