सम्माननीय राष्ट्रपतिसँग प्रमुख निर्वाचन आयुक्तहरुको शिष्टाचार भेट

48

काठमाडाैं । सम्माननीय राष्ट्रपति  रामचन्द्र पौडेलसँग दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुका प्रमुखहरुको  २०८१ भदौ २० मा शिष्टाचार भेट भएको छ। उक्त भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, नेपाल, प्रमुख निर्वाचन आयुक्त दासो सोनाम तोग्बे, भुटान, निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिक, माल्दिभ्स, निर्वाचन आयोगका अध्यक्ष आर. एम्. ए. एल्. रथ्‍नायेके, श्रीलंका, निर्वाचन आयोगका उपनिर्वाचन आयुक्त श्री नितेश व्यास, भारत र उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।

भेटघाटको क्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट आवधिक निर्वाचन लोकतन्त्रको आधार भएकोले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन आवश्यक रहेको बताउनु भयो। उहाँले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (FEMBoSA) मार्फत सदस्य राष्ट्रहरुका निर्वाचन गर्ने निकायहरुबीच आपसी सहयोग विस्तार हुँदै गएकोमा प्रसन्नता व्यक्त गर्नु भयो।

उक्त अवसरमा नेपालका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (FEMBoSA) को १२औं सम्मेलनमा छलफल भएका विषयहरुको बारेमा जानकारी गराउँदै यस सम्मेलनबाट नेपालले उक्त मञ्चको अध्यक्षता ग्रहण गरेको विषय जानकारी गराउनु भयो।

यसैगरी भुटानका प्रमुख निर्वाचन आयुक्त, माल्दिभ्सका निर्वाचन आयोग अध्यक्ष, श्रीलंकाका निर्वाचन आयोग अध्यक्ष र भारतका निर्वाचन आयोगका उपनिर्वाचन आयुक्तले आ-आफ्नो मन्तव्य राख्दै यस सम्मेलन उपलब्धिमूलक भएको बताउनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here