काठमाडौं । गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु जिबी राईलाई खोज्न नेपाल प्रहरीको एउटा टोलीले १० दिनसम्म मलेसियामा बिताएको तर खालिहात फर्किएको थाहा भएको छ।
आधा दर्जनभन्दा बढी सहकारीबाट ठूलो रकम अपचलनको आरोप लागेका जिबी राईलाई प्रहरी टोली मलेसिया पुगेको सहकारी ठगीबारे छानबिन गर्न गठित सहकारी संस्था वचत रकम दुरुपयोगसम्बन्धी छानबिन प्रतिवेदनमा उल्लेख छ। जिबीलाई खोज्न नेपाल प्रहरीका दुई अधिकृतको टोली मलेसिया पुगेका थिए।
जिबी मलेसियामै लुकेको निष्कर्ष निकालेर गृह मन्त्रालयको निर्देशनमा उनलाई खोज्न गत भदौ ७ गते दुईजना प्रहरी अधिकारी मलेसिया गए पनि १० दिनसम्मको कोसिस व्यर्थ भएको थियो। गृह मन्त्रालयले संसदीय समितिलाई भदौ ७ गते प्रहरी उपरीक्षक र प्रहरी नायब निरीक्षकसहित दुईजना अधिकारी मलेसिया पुगेको बताएको छ।
मलेसियामा उनीहरूले नेपाली दूतावासका डिसिएम मुदिता बज्राचार्य र मलेसियन प्रहरीसँग अनौपचारिक भेट गरेका थिए। यसबारे सरकारले नै उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने जवाफ उनीहरुले पाएको संसदीय समितिको शुक्रबार सार्वजनिक प्रतिवेदनम उल्लेख छ।


















