नेत्रविक्रम चन्दले क्रान्तिबाट विश्राम नलिने

48

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्।

नेत्रविक्रम चन्दको  नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उनले ८० को दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राखे ।

विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गरे।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको जनाए।

केन्द्रिय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाए।

तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो। सभाअघि स्थापना दिवसका अवसरमा आयोजित झाँकिसहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो भने सभामा महासचिव चन्दले पार्टीको झण्डोलन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here