मापदण्ड विपरीत भौतिक संरचना नबनाउन आग्रह

28

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड विपरीत कुनै किसिमको भौतिक संरचना नबनाउन आग्रह गरेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यका भित्रका क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत गराई योजना अनुमति लिएर मात्र जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, भोजभतेर स्थल, अस्पताल, विद्यालय, नर्सिङ होमलगायत संरचना निर्माण थाल्न सुझाएको हो । मापदण्ड विपरीत अनुमति नलिई कुनै पनि संरचना निर्माण गरिएको पाइए कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले मापदण्ड विपरीत बनेका संरचना भत्काउन दिइएको आदेश पालना नभए प्राधिकरण आफैँले हटाउने, भत्काउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने, जरिवाना समेत गर्न सक्ने जनाएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भू उपयोग क्षेत्र तोकी, भौतिक विकासका लागि आवश्यक सर्त निर्धारण गर्ने, त्यस्ता क्षेत्रमा गरिने निर्माणको विधि तोक्ने, जग्गा विकास कार्यक्रम सरकारबाट स्वीकृत गराई कार्यान्वयन गर्ने कार्य गर्दै आएको छ । कुनै व्यक्ति, सङ्घ–संस्थाले योजना अनुमति नलिई मापदण्ड विपरीत निर्माण कार्य गरेको थाहा भएमा जानकारी गराई सहयोग गरिदिन प्राधिकरणले सबैमा अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here