काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भएकाे तथ्य बाहिरिएकाे छ । महानगरले दैनिक उपभोग्य बस्तु र खाद्य बस्तुको अनुचित विक्री वितरण रोक्न नियमित अनुगमन जारी रहेकाे छ ।
सो अनुगमनमा ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् ।
उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको भेटिएको छ । मसला राख्ने भाँडा फोहर,भान्छाको भुईँमा पानी जमेर फोहर भेटिएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै फ्रिज सफाइ नगरी फ्रिजमा अटुन्जेल सामान कोचेर राखिएको, त्यहाँ राखिएको अचार र मसलामा लेवल नराखिएको भेटिएको छ । मसला राख्ने भाँडा, मःम बनाउने टेबल र मेसिन, भाँडा माझ्ने ठाउँ फोहर भेटिएको छ । व्यक्तिगत सामान भान्छामा राखिएको, मूल्य सूची नराखिएको लगायतका कमजोरी अधिकांश मःम पसलमा भेटिइएकाे हाे ।
यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको महानगरले जनाएको छ ।


















