ओलीको मात्र हैन, सबैको सम्पत्ति छानबिन जरुरी !

36
 -निमकान्त पाण्डे,
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै पत्रकार महासंघका पदाधिकारीसँगको भेटमा स्वीस बैंकमा आफ्नो पैसा रहेको हल्ला फैलाइएको भन्दै गुनासो गरे । पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलाउने काम भएको भन्दै उनले आफूविरुद्धको हल्ला पुष्टि गर्न चुनौतीसमेत दिए । उनले यस विषयमा सरकारी स्तरमा नै छानबिन गर्न तयार रहेको र समिति बनाउन सकिने पनि जनाए । यद्यपि, ओलीले उठाएको यो आरोप अहिले धेरैजसो नेपाली नेता, कर्मचारी, सरकारी निकायका उच्च अधिकारीमाथि लाग्ने गरेको छ । वैधानिक रुपमा सामान्य आय देखिने भए पनि छोटो समयमा नै नेता तथा कर्मचारी लगायतको जीवनस्तरमा ठूलो परिवर्तन देखिएको छ । आलिसन घर, खानपान, खर्च, घुमघाम, रहनसहन र जीवनशैलीका कारण उनीहरुमाथि आशंका हुनु असामान्य पनि होइन । ट्रान्सपरेन्सी इन्टरनेशनले हरेक वर्ष सार्वजनिक गर्ने गरेको तथ्यांकले पनि नेपालमा धेरै भ्रष्टाचार गरेको देखाउने गरेको छ । यस्तो भ्रष्टाचारमा सबैभन्दा धेरै नेता र कर्मचारी नै संलग्न रहेको पनि उक्त संस्थाको निष्कर्ष छ ।
भ्रष्टाचार कुनै पनि देशको विकासका लागि ठूलो बाधक हो । सुशासन कायम गर्ने मामिलामा नेपाल अहिले विषम परिस्थितिमा छ । त्यसैले भ्रष्टाचारविरुद्ध जनचाहना सम्बोधन गर्न सरकार जतिसक्दो चाँडो गम्भीर हुन आवश्यक छ । त्यसका लागि बलिया कानुन तर्जुमा, राजनीतिक व्यक्तिमाथिको अनुसन्धान र मुद्दा निष्पक्ष हुनुपर्ने, सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन र मन्त्रिपरिषद्बाट नीतिगत निर्णयका नाममा भ्रष्टाचारबाट उन्मुक्ति पाउने व्यवस्था अन्त्य गर्न आवश्यक छ । सरकारले ललिता निवास जग्गा र नक्कली भुटानी शरणार्थी प्रकरण, राजनीतिक संलग्नतामै राष्ट्रिय परिचयपत्रको अन्तरआबद्धता सेवा गुपचुप निजी कम्पनीलाई सुम्पिने निर्णय, सुराकी परिचालनका नाममा गृहमन्त्री र गृहसचिवले लिने बेहिसाब खर्चजस्ता अनियमितता लगाम लगाउन आवश्यक छ । पछिल्लो समय नेता, कर्मचारी संलग्न विभिन्न भ्रष्टाचार काण्ड चर्चामा आएका छन्, जसमा कमै प्रकरणमा अनुसन्धान भएको छ ।

अनुसन्धान भएका केही प्रकरणमा दोषीलाई कारबाही न्यून मात्रामा भएको छ । हालै नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणमा केही नेता, कर्मचारी, व्यापारी कानुनको दायरामा आएका छन् । देशको उपप्रधानमन्त्री, गृहमन्त्री र सरकारको सचिव भइसकेका व्यक्तिहरू अहिले ठगी एवम् संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा छन् । ठूला नेता र उच्च प्रशासकहरू नै यसरी भ्रष्टाचारजन्य फौजदारी कसुरमा मुछिनु राष्ट्रिय लज्जाको विषय हो । तर, नेपालको सन्दर्भमा भने यो नौलो भने होइन । यसअघि पनि मन्त्री बनिसकेका केही नेताहरू जेल गएका छन् । केही शीर्ष नेतामाथि भने आरोप लागे पनि अनुसन्धान भएको छैन । यस्तै, यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको अनियमितताको काण्ड, यती होल्डिङ, स्वास्थ्य सामग्री खरिद, ओम्नीलगायतका काण्ड चर्चामा आए ।

वाइडबडी प्रकरण जस्ता घटनामा पनि बल्ल फैसला आए पनि धेरै जनाले उन्मुक्ति पाएका छन् । यही कारण संसदमा सम्पत्ति छानबिन सम्बन्धी प्रस्ताव दर्ता भएको थिए । प्रस्तावमा सुशासन कायम गर्नका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा छलफल माग गरिएको छ । देशमा विभिन्न समयमा भएका भ्रष्टाचार प्रकरण, तस्करी तथा अन्य अनियमिततामा नेता, कर्मचारी तथा विभिन्न सरकारी निकायमा रहेका व्यक्तिहरुको संलग्नता रहेको खुलासा हुन थालेपछि यस्तो प्रस्ताव आवश्यक देखिएको थियो । यस्तो प्रस्तावमा सर्वदलीय सहमतिका साथ छानबिन आवश्यक छ । यदि केही दशकयता सार्वजनिक पदमा धारणा गरेका व्यक्तिको छानबिन हुन सकेमा सुशासनको क्षेत्रमा ठूलो योगदान हुनेछ । यसले आगामी केही देशमा देशको विकास र सुशासनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

भ्रष्टाचारका प्रकरणमा कर्मचारी फस्ने र नीतिगत निर्णय भन्दै नेताहरुले भने उन्मुक्ति पाउने गरेका छन् । यही कारण अहिले कर्मचारीले सरकारी सेवाका विषयमा हत्तपत्ति निर्णय लिन चाहेको देखिँदैन । यही कारण सरकारको कामकारबाही पनि सुस्त देखिएको छ । यही कारण हालै एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री ओलीले सरकारका सचिवहरुलाई कामकारबाही सुस्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले मन्त्रीहरुलाई सघाउन सचिवहरुलाई निर्देशन पनि दिएका थिए । तर, सचिवहरुले भने भ्रष्टाचारको घटनामा कर्मचारीमात्र फस्ने गरेको भन्दै निर्णय लिने विषयमा समस्या देखिएको प्रधानमन्त्रीलाई बताएका थिए । यो घटनाले पनि भ्रष्टाचारको घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन नसकिएको स्पष्ट हुन्छ ।

अर्कोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषदका निर्णयमा पनि छानबिन गर्न पाउने र नीतिगत निर्णय भनिएकामा पनि अनुसन्धान गर्ने गरी कानुन संशोधनको विषय आएको छ । तर, कांग्रेस तथा एमालेका शीर्ष नेता नै यसप्रति असहमत छन् । भोलिका दिनमा आफैलाई अप्ठ्यारो पर्ने देखिएकै कारण नेताहरु यस्तो कानुन ल्याउन चाहँदैनन् भन्ने स्पष्ट हुन्छ । त्यसैले केही दशकयताका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन र भ्रष्टाचारलाई कारबाही आवश्यक छ, यस्तो हुन सके मात्र आगामी दिनमा सरकारको प्रभावकारिता देखिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here