बिश्वकप खाेखाेमा भारतलाई हराउँदै उपाधी कब्जा गर्ने दाउमा नेपाली टाेली !

111

काठमाडौं । नेपाली महिला तथा पुरुष टाेली प्रथम बिश्वकप खाेखाे खेलमा भारतलाई हराउँदै खाे खाेकाे पहिलाे उपाधी कब्जा गर्ने दाउमा रहेकाे छ ।

भारतमा जारी प्रथम खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुग्न सफल भएकाे  छ ।

आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।

नेपाल मात्र नभई विश्वमै खो खो खेल खासै चर्चा नपाएता पनि  अहिले भइरहेको खो खो विश्वकपबाट  राम्रै चर्चा बटुलेकाे छ । पहिलोपटक विश्वकप हुँदा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेपछि नेपालमा पनि अहिले खो खो खेलको बारेमा चर्चा बढेको हाे ।

एक महिना मात्रै क्लोज क्याम्प राखेर भारतको नयाँ दिल्ली प्रस्थान गरेकाे नेपाली खो खो टोलीले विश्वकपमा सनसनी मच्चाउँदा अहिले समग्र नेपाली खेल जगतमा खो खो खेलको पनि चर्चा पाउन थालेकाे छ  ।

अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपमा यो स्तरको प्रदर्शन गरेको यो पहिलोपटक हो । नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले यस विश्वकपबाट खो खो खेललाई चिन्ने र चिनाउने अवसर भएको जनाए । फाइनल पुगेका कूल चार मध्ये तीन टोली अपराजित छन् ।

महिलातर्फ नेपाल र भारत दुव‌ अपराजित रहँदै फाइनल पुगेका हुन् । पुरूषतर्फ भारत अपराजित रहेर फाईनल पुग्दा नेपालले भने एक खेल मात्र हारेको छ । पहिलो खेलमा भारतसँग पराजित भएपछि नेपालले त्यसयता सबै खेल जितेर फाइनलसम्म आइपुगेको हो ।

महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।

त्यसैगरी क्‍वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।

यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्‍वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो ।

क्‍वाटरफाइनलमा  बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई ७२-२० ले पराजित गर्दै फाइनल पुगेको हो ।

नेपाली टाेली फाइनल खेलेर इतिहास रच्ने दाउमा रहेकाे  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here