काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको बलियो आधार भएकाले यसमा थप लगानी जुटाउनुपर्नेमा जोड दिएका छन्।
उनले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको धारणा राखे।
सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरि निजी क्षेत्रसँगको सहकार्यमा जलविद्युत आयोजनालाई अघि बढाउनका लागि सरकार अघि बढिरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले देशका सबै जनतालाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गर्दै स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्ने प्रयास भइरहेको उल्लेख गरे।
उनले मुलकमा नै अधिकतम विद्युत खपत गर्न सक्ने क्षेत्रको प्रवद्र्धन,प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै जीवास्म इन्धनमा रहेको निर्भरता कम गर्न तथा ठूलो व्यापार घाटालाई कम गर्न पनि बिजुलीको उपयोगिता बढाउनुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले पावर समिटमार्फत नेपालको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउन मद्दत गर्ने स्पष्ट मार्ग निर्देश गर्ने उल्लेख गरे।
‘हरित ऊर्जाको बजार विस्तारीकरण’भन्ने नाराका साथ सुरु पावर समिट बुधबारसम्म चल्नेछ । सम्मेलनमा भारत, बङ्गलादेश, भूटान, श्रीलङ्कालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी छन् ।
आठौं संस्करणको पावर समिट ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सञ्जाल बनाउने र एक अर्काबाट अनुभव आदान प्रदान गर्ने ठूलो अवसर भएको इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए।


















