अभौतिक मुद्रा कारोबारको आरोपमा सात पक्राउ

38

काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सात जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डंगौरा, सोही ठाउँका २६ वर्षीय अनिल विश्वकर्मा, बुढानिलकण्ठ–८ का पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई, रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहारका २७ वर्षीय रोशन कुमार र बिहारकै ३६ वर्षीय मुन्ना कुमार छन् ।

उनीहरूबाट प्रहरीले कम्युटरको सीपीयु २ थान, विभिन्न ब्राण्डका मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी भएका बैंकका चेकहरु १९ थान र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।

डीजिटल फरेन्सिक ल्याबको रिपोर्ट अनुसार यो समूले अहिलेसम्म तीन अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको खुलेको सीआईबीका प्रवक्ता सुधिरराज शाहीले जनाए। उनीहरुले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालित गरेर क्रिप्टोको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

बैंक तथा डीजीटल वालेट प्रयोगकर्ताहरुलाई झुक्याएर वालेटको आधिकारिक व्यक्ति भन्दै ओपीटी पिनहरू माग गरी अनधिकृत रुपमा बैंक तथा डीजीटल वालेटहरुमा पहुँच पुर्‍याई ठगी गरेको पाइएको छ ।

सामाजिक सञ्जालमा विज्ञापन समेत गरेर लिंकहरु पठाइ साइबर फिसिङ गर्ने गरेको समेत पाइएको छ । अर्कोतर्फ सामाजिक सञ्जालाबाट विज्ञापन गरी आकर्षक जागिर दिने भन्दै प्रलोभनमा पारेर बैंक खाता समेत खोल्न लगाई उक्त खातामा ठगी गरिएको रकम समेत ट्रान्सफर समेत गरेको भेटिएको छ । यसरी ठगी गरिएको रकम उनीहरूले क्रिप्टोमा लगानी गरेको तथा हुण्डी कारोबारमा समेत प्रयोग भएको पाइएको एसपी शाहीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here