काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको नाममा भड्किला कार्यक्रम नगर्न सचेत गराएको छ ।
प्रशासन कार्यालयले कसैको इच्छा विपरीत रंग दल्ने, पानी वा लोला हान्ने काम नगर्न पनि अनुरोध गरेको छ ।
‘विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भडक सहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ,’ कानुनी व्यवस्था सम्झाउँदै प्रवक्ता पौडेलले विज्ञप्तिमा लेखेका छन्, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ ।’
आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन काठमाडौं प्रशासनले अनुरोध गरेको छ । तर कोही कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।


















