काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उनले आन्दोलन कसरी जाने भन्ने कुरा अर्को कार्यक्रममा भन्ने बताए।
उनले मान्छे मर्नुपर्यो भने उसैको जन्म महिना, उसैको जन्मबार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने बताए। २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने र आफूहरुको अभिष्ठ सिद्धि हुने जिकिर गरे।
उनले भने, ‘यो गणतन्त्रको घोषणा कहिले भयो त? जेठको १५ गते होइन? जेठको १५ गते गणतन्त्रको घोषणा भयो। गणतन्त्र दिवस मनाउँछ। यसको अन्त्य कहिले हुन्छ त? ०८२ सालको जेठको १५ गते हुन्छ। त्यही हो कुरा।’
उनले जनताको हक अधिकारको कुरा पृथ्वीपथले गरेको बताए। राज्यलाई थाम्ने दायित्व राजाको भएको उनको भनाइ थियो। राजालाई सचेत गराउने काम नागरिकको भएको उनले बताए। पृथ्वीपथ भनेको आफ्नो रैथाने पथ भएको उनले भने।


















