काठमाडौं । पाकिस्तानविरुद्ध हवाइ आक्रमण सुरु गरेको भारतका तीनवटा फाइटर जेट दुर्घटनाग्रस्त भएका छन् । भारतकै भूमिभित्र ती जहाजको भग्नावशेष भेटिएको छ ।
भारत सरकार र सेनाले औपचारिक तवरबाट यो विषयमा केही पनि जानकारी दिएको छैन । तर, अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले भारतीय सुरक्षा सुत्रलाई उद्वृत गर्दै दुर्घटनाको पुष्टि गरेका छन् ।
समाचारहरुमा जनाइएअनुसार दुई जहाजको भग्नावशेष भारत प्रशासित जम्मु कश्मीरमा र अर्को जहाज भारतकै पञ्जाब प्रान्तमा पूर्णरुपमा क्षतिग्रस्त भेटिएको हो ।
दुर्घटना र कहिले र कसरी भएको भन्नेबारे सञ्चारमाध्यमहरुले विस्तृत जानकारी दिन सकेका छैनन् । दुर्घटना भएका स्थानमा सञ्चारकर्मीलाई जान रोक लगाइएको छ । जहाजको बाह्य फ्यूल ट्याङ्क उछिट्टएर खसेका एकाध तस्विर र भिडिओ सार्वजनिक भएका छन् । मुख्य दुर्घटनास्थललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
भारत सरकारका चार स्थानीय स्रोतहरुलाई उद्वृत गर्दै रोयटर्सले तीन लडाकु जहाज दुर्घटना ग्रस्त भएको जनाएको छ । भारतले पाकिस्तानी भूभागमा आक्रमण गर्न पठाएका जहाज दुर्घटना भएर खसेको हुन सक्ने कतिपयको आशंका छ ।
दुईजना पाइलट र कोपाइलट हराइरहेको तथा एक पाइलटलाई अस्पताल लगिएको केही समाचारमा दावी गरिए पनि आधिकारिक पुष्टि भएको छैन । तीनवटै दुर्घटना स्थल वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । ती क्षेत्रमा मानिसहरु निकै त्राशमा छन् ।