काठमाडौं । बाबुराम भट्टराईसँग फुटेर बनेको नेपाल समाजवादी पार्टी(नेसपा) पनि फुटेको छ ।
माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने विषयमा पार्टी भित्र विवाद चर्किएपछि सह–अध्यक्ष गङ्गानारायण श्रेष्ठ समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो ।
यसबारे निर्णय लिन श्रेष्ठ समूह लगायत माओवादी पृष्ठभूमिका नेताहरूले जेठ ११ गते विस्तारित बैठक बोलाएका हुन् । केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने उनले बताएका छन् ।
श्रेष्ठका अनुसार दुई पार्टीबिच जेठ १२ गते एकता घोषणा गर्ने तय भएको छ । पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाण्डु फर्केपछि एकता हुनेछ ।
२०८० साल चैत ३ गते यादव सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन सहमत नभएकाले तत्काल एकता प्रक्रियामा सहमत हुन नसक्ने महासचिव रमेशप्रसाद यादवले बताएका छन् ।यसअघि यादव समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेसपाको नाममा बोलाइएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको जिकिर गरेको छ । साथै माओवादीसँग रुपान्तरणसहित एकता गर्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि पार्टीभित्र कुनै विवाद नभएका दुवै पक्षले दाबी गरेका छन् । तर माओवादी र गैरमाओवादी पृष्ठभूमि भनेर पार्टी विभाजनको रेखा कोरिएको नेताहरूले बताउने गरेका छन् ।
महासचिव यादवले पार्टी एकताको विषय माओवादीका अध्यक्ष दाहालसँग पनि कुराकानी भएको बताउँदै माओवादीसँग पार्टी एकताका लागि कुनै विवाद नभएको दाबी गरे । नेसपाका तत्कालीन अध्यक्ष बाबुराम भट्टराई सहित माओवादीसँग पार्टी एकता गर्ने विषयमा विवाद हुँदा २०८० चैत ३ गते पार्टी विभाजन भएको थियो । विभाजनपछि अर्का अध्यक्ष यादवको नेतृत्वमा नेसपा पुनर्गठन भएको थियो । नेसपामा अहिले १७० केन्द्रीय समिति र २७ सदस्य केन्द्रीय कार्यकारिणी समिति छन् ।


















