तनहुँ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको डा बरालले बताए । उनले भने, ‘बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।’
उनका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । विशेषत्र चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, १३ जना अन्य प्रविधिक र २२ जना सहायक सेवामा कार्यरत रहेका उनले जानकारी दिए । अस्पतालले गत आर्थिक वर्षमा ९८ हजार ३५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा.बरालले जनाए ।
वि.सं २०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई वि.सं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।
अस्पतालमा फोहरपानी र फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’सहित भवन निर्माण, आँखासम्बन्धी सेवा सञ्चालन, अत्यधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्यधुनिक ल्याब, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएको दुई वटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।


















