सुन तस्करी फरार आरोपी अमला पक्राउ

27

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको एक अधिकृतले जनाए ।

उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।

उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ। राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।  १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।

माओवादी नेतृ अमला

अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।  रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

प्रहरीले जनाए अनुसार, २०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइकुण्ड गएका थिए।  २०७६ को पुसमा नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिकमाथि सीआईबीले विशेष अपरेशन चलाएको थियो । त्यसबेला उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको थियो ।

नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाका आधारमा चलाइएको अपरेशनमा पक्राउको सूचीमा रहेका केही शीर्ष तहका व्यक्तिहरु छुटेका थिए । स्रोतका अनुसार, दूतावासले त्यसबेला अमलाका पति दावा छिरिङको नाम पनि पासपोर्ट नम्बरसहित पठाएको थियो । तर, तत्कालीन उपराष्ट्रपति पुन लगायतसँग सम्बन्ध भएका उनीसहित केही व्यक्तिहरु उम्किन सफल भएका अधिकृतहरुले बताएका थिए ।

काभ्रेबाट नेपाली नागरिकता समेत लिएका दावा छिरिङको माओवादीका अरु नेताहरुसँग पनि सम्पर्क देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here