रौतहट । जिल्लाको कटहरीया नगरपालिका–५ का संचारकर्मी रबिन्द्र प्रजापतिको अक्सिजन नपाएर ज्यान गएको घटनाले स्थानीय मात्र होइन, राष्ट्रियस्तरमै सरकारी स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। रबिन्द्र प्रजापति कटहरिया म्युजिकल रेडियोमा समाचार संकलक तथा कर्मचारीका रूपमा कार्यरत थिए।
स्थानीयस्तरका विविध सामाजिक मुद्दा र जनसमस्यालाई निरन्तर उजागर गर्दै आएका प्रजापतिको ज्यान आफैं कार्यरत नगरपालिकाको लापरवाहीका कारण गएको भन्ने समाचार सार्वजनिक भएसँगै, स्थानीय तहको स्वास्थ्य सेवा चरम संकटमा रहेको यथार्थ फेरि एकपटक उजागर भएको छ।
श्रोतका अनुसार, कटहरीया प्राथमिक स्वास्थ्य केन्द्रमा अत्यावश्यक अक्सिजनको अभावका कारण प्रजापतिलाई समयमै उपचार दिन नसकिएको हो। यथासमय अक्सिजनको जोहो गरिएको भए, उनको ज्यान जोगिन सक्ने जनाइएको छ।
स्थानियहरू आक्रोशित छन्। उनीहरू भन्छन्, “करोडौंको बजेट चलाउने नगरपालिका २–३ हजार पर्ने अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न असमर्थ हुनु आपराधिक लापरवाही हो।
स्थानिय तह निर्वाचन २०८९ मा विजयी भएका नगरप्रमुख अजय प्रकाश जैसवाल र उपप्रमुख रिता देवी यादवमाथि प्रत्यक्ष आरोप लगाउँदै स्थानियहरूले नेतृत्वको असक्षमता र बेवास्तापूर्ण व्यवहारप्रति आक्रोश पोखेका छन्।चुनावी बेला ‘स्वास्थ्य सेवा सुधार्छौं’ भन्दै मागिएको भोट आज नागरिकको मृत्युमा परिणत भएको छ। यस्तो नेतृत्व जनताको पीडामाथि खेलवाड हो। प्रजापतिको मृत्यु कुनै एकल घटना नभएर, हरेक वर्ष २–४ जनाले लापरवाहीकै कारण ज्यान गुमाइरहेका छन् भन्ने स्थानीयको भनाइ छ।
प्राथमिक स्वास्थ्य केन्द्रहरू ‘कमाइ खाने माध्यम’ बनेको गुनासो समेत उब्जिएको छ।स्वास्थ्य अब सेवा होइन व्यापार बनेको छ – जहाँ जनताको ज्यानको कुनै मूल्य छैन। रबिन्द्र प्रजापतिको असामयिक निधनले स्थानीय सरकार, स्वास्थ्य सेवा प्रणाली र राजनीतिक नेतृत्व सबैलाई कठघरामा उभ्याएको छ।
यस्ता घटनाबाट पुनः पुष्टि हुन्छ — बजेट, नीति र प्रतिबद्धता कागजमै सीमित हुँदा, जनताको ज्यान संकटमा पर्छ।के जनताले पाउनैपर्ने स्वास्थ्य सेवा राज्यले सुनिश्चित गर्नेछ, कि अझै पनि लापरवाही र मौनताकै शासन चल्नेछ?


















