काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनमा ‘लोडसेडिङ’ हुन लागेको भन्ने हल्ला निराधार भएको दाबी गरेको छ।
प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै चनौली वितरण केन्द्रले एक दिनका लागि निकालेको लोडसेडिङको तालिकाले अन्योल सिर्जना भएको जनाएको हो।
चितवनमा कुनै लोडसेडिङ हुन लागेको नभई विशुद्ध प्राविधिक समस्याका कारण सिर्जित अस्थायी अवस्था मात्र भएको प्राधिकरणको दाबी छ।
प्राधिकरणका अनुसार, चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड बढेकाले यो समस्या उत्पन्न भएको हो। यसको समाधानका लागि काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ।
वर्षायाममा अपेक्षित पानी नपर्दा आएको खडेरीका कारण सिँचाइको लोड अत्यधिक बढेको र त्यसको व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रान्सफर्मरहरू अदलबदल गर्नुपर्ने भएकाले मात्रै केही समयका लागि लाइन अवरुद्ध हुने समय तालिका सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ।



















