थाइल्यान्डलाई सैनिक फिर्ता गर्न कम्बोडियाकाे आग्रह

25

एजेन्सी ।  दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ।

गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन।

पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो। कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ। ती सैनिकलाई युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको कम्बोडियाले बताएको छ। यी दुई देशबीच झन्डै आठ सय किलोमिटर खुला सीमा छ।

Ncell 2

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले बिहीबार ती सैनिकको रिहाइका लागि वार्ता भइरहेको बताएका छन्। ‘हाम्रा सबै सैनिकलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो घर फिर्ता ल्याउनका लागि थाई पक्षसँग वार्ता जारी राख्न हामी सक्दो प्रयास गर्नेछौं’, पत्रकार सम्मेलनमा उनले भने, ‘हामी थाई पक्षलाई सबै २० जना सैन्य कर्मचारीलाई सकेसम्म चाँडो कम्बोडिया फिर्ता पठाउन आह्वान गर्दछौं।’ उनका अनुसार युद्धविराम लागू भएको लगभग आठ घण्टापछि ती सैनिकलाई कब्जा गरिएको थियो।

थाइल्यान्ड सरकारले बुधबार हिरासतमा लिइएका सैनिकलाई अन्तर्राष्ट्रिय मानवीय कानुन र सैन्य नियमअनुसार व्यवहार गरिएको र सीमास्थित अवस्था स्थिर भएपछि फिर्ता गरिने बताएको छ। संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले दुवै छिमेकी मुलुकलाई आफ्नो युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न, विश्वास र शान्ति निर्माण गर्न द्रुत कदम चाल्न आग्रह गरेका छन्। ‘द्वन्द्वका मूल कारणहरू समाधान गर्ने प्रयासमा कूटनीतिक प्रयास जारी रहँदा यो महत्त्वपूर्ण सम्झौतालाई दुवै पक्षले सद्भावका साथ पूर्ण रूपमा सम्मान गर्नुपर्छ’, उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता गरिएको थियो। थाइल्यान्ड र कम्बोडिया दुवैले भारी भन्सार शुल्कको धम्कीलाई टार्न व्यापारिक सम्झौताका लागि ट्रम्पलाई मनाउन खोजिरहेका छन्। जंगल र कृषि जमिनले घेरिएको पहाडी ग्रामीण सीमा क्षेत्रमा दुवै पक्षले जेट, रकेट र तोप आक्रमणसहित लडाइँ गर्दा करिब तीन लाख मानिस घर छाडेर भागेका थिए।

थाइल्यान्डले आफ्ना १५ सैनिक र १५ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु संख्या सीमामा अन्तिम ठूलो हिंसाको तुलनामा उल्लेखनीय रूपमा बढी छ। यसअघि २००८ देखि २०११ सम्म भएका छिटपुट झडपमा २८ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here