सरकार प्रमुख सुशीला कार्कीलाई बाबुरामकाे समर्थन

29

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको रुपमा जेनजी युवाबाट सिफारिस हुनु अत्यन्त सकारात्मक र सही रहेको डा. भट्टराईको भनाइ छ ।

डा. भट्टराईबाट आज बिहान विज्ञप्ति जारी गरेर कार्कीप्रति समर्थन जनाएका हुन् ।

अब कार्कीलाई संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनुपर्ने भट्टराईको भनाइ छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविदहरु र जानकारहरुको सल्लाहमा निर्णय गर्न उपयुक्त हुने भट्टराईले बताएका छन् ।

अहिलेको सन्दर्भ र २०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष नियुक्त गरिएको नजर मेल नखाने पनि उनले बताएका छन् ।

‘त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा राजनीतिक सहमतिका आधारमा कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको सहमति बुझ्नुपर्छ भनेर स्पष्टीकरण समेत त्यहीँ राखिएको थियो,’ डा. भट्टराईले भनेका छन्, ‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नुपर्छ ।’

अहिलेको आन्दोलन भन्दा पनि ठूलो बलिदानपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जीको दीर्घकालीन हितमा हुने पनि भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here