नेपालमा विदेशी हस्तक्षेप बढेको भन्दै मेयर साम्पाङ धुरधुरी रोए

19

काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट फर्किएदेखि आक्रोशित छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री खोज्दै आएका उनी खाली हात फर्किनुपरेपछि खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति आक्रोशित छन् ।

उनले सोमबार बालेन्द्रलाई लक्षित गर्दै कडा प्रहार गरेका थिए । बालेनलाई प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव जिताएर देखाउन पनि चुनौती दिए ।

‘चानचुने नठान्, सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा, हारेँ भने तेरो घरमा १ बर्ष नोकर बस्छु’, मन्त्रीमा रोकेको आक्रोशसहित उनले बालेनलाई प्रहार गर्दै सोमबार बने,‘तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस् ! सक्छस् ? …ला लुक्छस् ? हुतिहारा…!’

त्यसलगत्तै उनले आफ्नो बचाउ गर्दै आफूलाई पदको लोभी भन्नेले घरभित्र लुकेर बसेको आरोप बालेनमाथि लगाएका छन् ।

‘मलाई पदको लोभी भन्नेहरूलाई के थाहा, देश दनदनी जलिरहेका बेला सबै डराएर घरभित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले’, उनले अगाडि भनेका छन्, ‘खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म । भारतीय दूतावासस जानु पर्ने भनेपछि म हच्किएँ ! पछि थाहा हुन्छ विरोधी हो, हर्क साम्पाङ को हो भन्ने ।’

उनी धरान फर्किएपछि काठमाडौंका मेयर साहलाई निशाना बनाइरहेका बेला मंगलबार एक अन्तर्वार्तामा धुरधुरी रोए । नेपालमा विदेशी हस्तक्षेप बढेको जिकिरसहित साम्पाङ धुरधुरी रोएका हुन् ।

जेन-जी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले मन्त्रीसमेत हुन नपाएपछि नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको जिकिर पनि गरे ।

जेन-जी आन्दोलनपछि ठूला नेता बेपत्ता भएको अवस्थामा मुलुकको नेतृत्व लिन कोही नआएकाले आफूले इच्छा देखाउँदा पनि नदिइएको उनको जिकिर छ । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा मेयर साम्पाङ भावुक हुँदै धुरधुरी रोएका देखिन्छन् । बालेनलाई सकेसम्म गाली गरेपछि उनले रोनाधोना थालेका हुन् ।

‘विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ, के गर्ने ? सबै नेताहरू भागाभाग, रक्ताम्य, कोही बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के, तहनहस, पार्टीको कार्यालय तहसनहस, को आउने त, को शक्ति आउने त त्यहाँ ? कोही छैन, कस्ले गरेको, कसरी गरेको भन्ने बारेमा कसैलाई थाहा पनि छैन ?,’ रोइरहेका उनले भनेका छन् ।

युवाहरूले आफूलाई नेतृत्व लिन भनेपछि धरानदेखि काठमाडौँ पुगेको उनको जिकिर छ। आफूले हिम्मत नहारेको पनि उनले बताए । ‘तँलाई गोली लाग्न सक्छ भन्ने कुरासमेत आएको थियो त्यहाँ, ठिक छ लाग्छ भने लागोस् भनेर त्यो कठिन समयमा म निस्किएँ ।’

आफू नेतृत्व लिन अघि सर्दा बालेनसहितकाहरू घरमा लुकेर बसेको उनले दाबी गरे । युवाहरूको प्रस्ताव प्रधानमन्त्रीमा दाबी गरेको बताएका उनी भदौ २५ गते काठमाडौं आएर केही दिनपछि फर्किएका छन् । प्रधानसेनापति अशोकराज सिग्देललाई पनि भेटेका उनी खाली हात फर्किएका छन् ।

तर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा समर्थन जनाएका उनले आक्रोश र रोदन एकसाथ निकाल्न थालेपछि काठमाडौँका मेयर साह फकाउन लागेका हुन् ।

साहले मंगलबार दिउँसो हर्कलाई सम्बोधन गर्दै एकतर्फी भए पनि माया स्वीकार्न भनेका छन् । उनले आफूलाई जति गाली गरे पनि माया गरिरहने बताएका छन् । एकतर्फी नै भए पनि हर्कलाई आफूले गरेको माया साँचो रहेको बालेनको तर्क छ ।

‘डियर हर्क साम्पाङ तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ’, बालेनले फकाउँदै फेसबुकमा लेखेका छन्, ‘एकतर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माई ट्र्यु लभ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here